काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशन उद्घाटनस्थलमा सहभागी हुन आउने पाहुनालाई ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थल नारायणी नदी किनारमा २५ स्थानमा फोटो खिच्नका लागि सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो ।
एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ ।
उनका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने छन् ।
मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताए । ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उनको भनाइ छ ।
यसका लागि रु चार लाख खर्च हुने अनुमान गरिएको छ । यस्तै एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि रु एक लाख खर्च हुनेछ ।
नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने पनि बताइएको छ । मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ ।
उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिने छ । दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । सो महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने नेकपा (एमाले)ले जनाएको छ ।
उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।