काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोप व्यवस्था गर्ने बताएका छन् । मङ्गलबार 'विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरु' सार्वजनिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले सबै विद्यार्थीहरुलाई कोभिड-१९ विरुद्धको खोप व्यवस्था गर्ने बताएका हुन् ।
उनले चाँडै नै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गर्ने मन्त्रालयको प्राथमिकता रहेको बताए। मन्त्री पौडेलले सिक्दै-कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने, अनिवार्य तथा निःशुल्क ऐन र नियमलाई प्रभावकारी बनाउने, काक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाइ गुणस्तरीय एवं रङ्गीन बनाउने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याउने मन्त्रालयको प्राथमिकतामा रहेको बताए। उनले स्थायी शिक्षकको पदपूर्तिका लागि विज्ञापन प्रक्रिया तत्काल अघि बढाउने, समयमै सबै पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पुर्याउने र शिक्षक दरबन्दी मिलान कार्यलाई स्थानीय तहबाट नै शीघ्र अघि बढाउने पनि बताए।
उनले हरेक स्थानीय तहमा क्रमशः कम्तीमा एउटा प्राविधिक शिक्षालय पुर्याउने योजना मन्त्रालयको रहेको बताए। मन्त्री पौडेलले शिक्षक अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने, तीन वर्षभित्र सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारहरु तयार गर्ने गरी स्रोत साधन परिचालन गरिने पनि जानकारी दिए। शैक्षिक पूर्वाधार निर्माण एवं प्रविधि विकासमा स्वदेशी एवं वैदेशिक लगानी आकर्षित गराउने पनि मन्त्रालयको प्राथमिकता रहेको उनको भनाइ थियो।
मन्त्री पौडेलले विभिन्न आन्दोलनका घाइते, अपाङ्ग एवं द्वन्द्वपीडितलाई शैक्षिक अवसर प्रदान गरिने, विद्यालयस्तरको एसईई र कक्षा १२ को परीक्षालाई व्यवस्थित बनाउने, शैक्षिक गुणस्तरमा सुधार ल्याउन हरेक क्षेत्रको सुक्ष्म अनुगमन गरिने बताए। मन्त्रालयले वैकल्पिक सिकाइ र अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारी बनाउने, निजी विद्यालयले सरकारले तोकेअनुसार छात्रवृत्ति उपलब्ध गराए/नगराएको बारे अनुगमन गर्ने, विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराइ सञ्चालन गरे/नगरेको अनुगमन गर्ने र विद्यार्थी भर्ना संख्याका आधारमा नभइ सिकाइका आधारमा विद्यालयको उपलब्धि मापन गर्ने कुरालाई आफ्नो प्राथमिकतामा राखेको छ।