पछिल्लो समयमा नेपालका कम्युनिष्ट पार्टीहरुमा असंख्य चुनौतीहरु थपिएका छन् । नेपालको राजनीतिक आन्दोलनलाई निष्पक्ष भएर विश्लेषण गर्ने हो भने नेपालको राष्ट्रियता, जनजिविकाको सन्दर्भमा, मुलुक समृद्ध बनाउने नेतृत्वदायी भूमिकामा नेपालको कम्युनिष्ट आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ ।
लोकतन्त्रलाई सुदृढ गर्ने र लोकतान्त्रिक आन्दोलनलाई प्रभावकारी ढंगले लैजाने कुराहरु र मुलुकमा संघीयता, समावेशीता पछिल्ला उपलब्धीहरु हुन् । यी सबै बिषयमा कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले निकै नै प्रभावकारी भूमिका खेलें । र पछिल्लो समयमा कम्युनिष्ट पार्टीभित्र एक खालको विभाजनको स्थिति पनि देखा पर्यो । यतिखेर कम्युनिष्ट पार्टीलाई सैद्धान्तिक र वैचारिक रुपमा एकताबद्ध बनाउँदै पछिल्लो दिनमा जुन खालको चुनौतीहरु हाम्रा सामु देखिएका छन् । त्यसलाई प्रभावकारी र क्रियाशील रुपमा हस्तक्षेपकारी भूमिका समेत निर्वाह गर्नुपर्ने अवस्था आएको छ । विशेष गरेर कम्युनिष्ट पार्टीभित्र प्रहार भएका विभिन्न खालका भ्रमहरुलाई चिर्ने र नेकपा एमालेले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानबाट विकासको एउटा लहर केपी ओलीले ल्याउनुभयो र त्यसलाई पनि निरन्तरता दिनको लागि र त्यसका बाधक बनेका शक्तिहरु दलाल, पूँजीवाद र सामान्तवादका शक्तिहरु भ्रष्टाचार र अनियमितताका कारण विकासका बाधक बनिरहेका छन् । उनीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने लगायतका असंख्य चुनौतीहरु हाम्रा सामु छन् । यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनको लागि केपी शर्मा ओली जस्तो राजनेता हामीले पाइरहेको सन्दर्भमा उहाँलाई एउटा सशक्त सहयोगी बनेर नेकपा एमालेको संगठन निर्माण देखि लिएर यसको परिचालन गर्नका लागि हामी जत्तिका मानिसहरु पदाधिकारीको जिम्मेवारीमा बसेर काम गर्नुपर्छ भन्ने आम कार्यकर्ताहरुबाट सुझाव आएका कारण र अग्रज नेताहरुको सुझावका आधारमा पनि मैले सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।
हामीले विधान महाधिवेशन सकेर वैचारिक र सैद्धान्तिक बिषयबस्तुलाई एकताका साथ टुङ्ग्याएको सन्दर्भमा आउँदो महाधिवेशन जनपरिचालन र नेतृत्व चयनमा बढी केन्द्रित भएर हामी अगाडि बढिरहेका छौं । नेतृत्व चयनका सन्दर्भमा विभिन्न पाटोलाई ध्यान दिनुपर्ने अवस्था छ । एउटा लामो समयदेखि काम गरिरहेका र पार्टीमा योगदान दिइरहेका नेताहरु जसलाई सम्मानको लागि पनि हामीले नेता बनाउनुपर्नेछ । दोश्रो हामीले अभ्यास गरेको समावेशीताका बिषयबस्तु छन् । समाजका सबै पक्षका अनुहारहरुलाई हामीले पार्टीको नेतृत्वमा ल्याउनुपर्नेछ । सोही कारण हामीले यो महाधिवेशनमा महिलाहरुलाई एक तिहाई ल्याउने देखि सबै पक्षलाई समेट्ने कुरामा पनि सुनिश्चितता गरेका छौं ।
तेश्रो पक्ष भनेको पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने कामबाट स्थापित भएका र आफूलाई प्रभावकारी ढंगबाट प्रस्तुत गर्नसक्ने साथीहरु पनि हामीलाई चाहिएको छ । त्यसैगरी उमेरका हिसाबले परिपक्व ‘पाको’ पुस्तापनि हामीलाई चाहिएको छ भने पछिल्लो पुस्ता जसले राजनीतिलाई रचनात्मक ढंगले आजको आधुनिक सूचना प्रविधि र ज्ञान–विज्ञानलाई समेत उपयोग गरेर जनताको सेवा र राष्ट्रियता, जनजिविका र प्रगतिशील ‘मूभमेन्ट’लाई सही ढंगले उठाउन सक्छ । त्यो पुस्तालाई पनि केन्द्रीय कमिटीमा ल्याउनुपर्ने अवस्था छ । त्यसो भएकाले सचिव भन्ने पद चाहिँ पदाधिकारीको ‘इन्ट्रान्स’ हो । र केन्द्रीय कमिटीमा पनि धेरै नयाँ र युवा पुस्ता ल्याउनुपर्छ । विगतमा नेकपा एमाले युवामैत्री पार्टी हो भन्ने छाप हामीले छोड्न सफल भएका थियौं । पछिल्लो समयमा त्यो छाप चाहिँ नेकपा एमाले युवामैत्री छैन कि भन्ने जस्तो देखिन थालेको अवस्थामा बरु कांग्रेस नै युवामैत्री हुन लाग्यो कि भन्ने जस्तो कि, गगन जी, विश्वप्रकाश जीको महामन्त्रीमा उम्मेदवारी दिने लगायतका बिषयबस्तुहरु हेर्दा यो खालको परिवेश देखिएको बेलामा नेकपा एमाले चाहिँ युवामैत्री छ भन्ने सन्देश पनि हामीले दिनुपर्ने अवस्था छ । र, हामी जत्तिका मानिसहरु चाहिँ यो मुलुकको समृद्धिका लागि नयाँ पुस्तालाई सशक्त ढंगले परिचालन गरेर पछाडि परेका वर्ग र समुदायलाई अगाडि ल्याउने काममा एउटा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने हैसियत हामीले विगतमा पनि देखाएका कारण हामी नेतृत्वको स्वभाविक दावेदार हौं ।
लोकतान्त्रिक पद्धतिलाई अंगीकार गरिरहेको दलले आफ्नो दलको नेतृत्व सर्वसम्मतिबाट गर्ने प्रयत्न त गर्छ नै । सर्वसम्मत पनि लोकतन्त्रको एउटा उन्नत विधि हो । त्यसैले नेतृत्व तहबाट सर्वसम्मत गर्ने कुरामा नेतृत्व र दावेदारहरुसँग छलफल र होमवर्कहरु हुन थालेका छन् । र हाम्रो पार्टीको यसपालीको नेतृत्व चयनमा तीनवटा पाटोहरु, एउटा नेकपा एमालेलाई संकट पर्दाखेरि देशभरि कुदेर हामीमाथि आइलागेका असंख्य खालका प्रहारहरु, गठबन्धन निर्माण गरेर भएका प्रहारहरु, मिडिया तथा सोसल मिडिया लागेर कथित् बुद्धिजिवी र नागरिक समाजका नामबाट भएका प्रंहारहरु, अदालत र न्यायालयको सेटिङबाट हाम्रो सरकार हटाउने लगायतका कर्महरु र हामीमाथि विभाजन गरेर एमाले र कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्दै, शेरबहादुर देउवाको पाउमा सत्ता सुम्पेर प्रतिक्रियावादीहरुको चाकरी गर्ने माधव नेपाल प्रबृत्तिहरु अनि त्यसलाई मलजल गर्ने प्रचण्ड प्रवृत्तिविरुद्ध पनि हामीले जुध्नुपर्ने भएको छ । यो समग्र परिवेशभित्र मैले नेकपा एमालेका नेता कार्यकर्तालाई उर्जा भर्ने कार्य र हाम्रा पार्टी अध्यक्षलाई बलियो बनाउने कुरामा जुनखालको एउटा भूमिका निर्वाह गरेँ । देशभरि युवा परिचालन गरेर जुनखालको समन्वय गरेँ । यो सबै हिसाबले आम कार्यकर्ताले मेरो उम्मेदवारीलाई स्वीकार गर्नुभएको छ जस्तो मलाई लाग्छ । र भोलिका दिनमा पनि नेकपा एमाले बलियो हुँदा र यसको नेतृत्व सशक्त हुँदा मात्रै हामी कार्यकर्ताको मान, सान र सम्मान बढ्दो रहेछ भन्ने पुष्टी गराउनु पनि जरुरी छ ।
विगतमा माधव नेपाल र झलनाथ खनालले पार्टी नेतृत्व गर्दा हामी एमाले हौं भन्न पनि लाज लाग्ने र टोल–टोलमा हामी अपमानित हुनुपर्ने, माओवादीको जनयुद्धका नाममा असंख्य आक्रमण सहनुपर्ने, हत्या हिंसा र आतंक हुँदा पनि हामी निरिह भएर बस्नुपर्ने परिस्थिति थियो भने केपी ओलीले सशक्त खालको नेतृत्व दिएर यो मुलुकको समृद्धिको नेतृत्व गरिरहँदा आज देशभरि नेकपा एमालेको हैसियत र सम्मान बढेको छ । र नेपालको राजनीतिमा नेकपा एमालेको कार्यकर्ताहरुले विगतमा तीनै तहको सरकारमा बसेर एउटा प्रभावकारी कार्यहरु पनि सम्पन्न गरेर जनताको मन पनि जित्नुभएको छ । यी र यस्ता कुराहरुलाई प्रभावकारी रुपमा निरन्तरता दिनका लागि पनि हामीजस्तो जनपरिचालन गर्न सक्ने संगठन निर्माण गर्नसक्ने भएकाले पनि अहिले हाम्रो नेतृत्वमा दाबी अस्वभाविक होइन ।
नेपालमा हामी आफ्नै पार्टीका अध्यक्षलाई आलोचना गर्ने र उहाँमाथि हुने अपमान र सत्ताबाट उहाँलाई गलहत्याएर डोनाल्ड ट्रम्पजस्तो रुँदै–रुँदै गरेर विपक्षीहरुले चुनौती दिइरहेको बेला देशभरि केपी ओली बहिर्गमित भएर शेरबहादुर सत्तामा आउँदा विजय जुलुस मनाउछु भनेर विपक्षीहरुले हाम्राविरुद्ध अभियान चलाइरहँदा हामीले बालुवाटारबाट केपी ओलीलाई सम्मानका साथ बालकोट लैजाने कुरा, युथफोर्स निर्माण गरेर युवा परिचालन गर्ने कुरा नगरेको भए नेकपा एमालेलाई आज टोल–टोलबाट, गाउँ–गाउँबाट कथित् सत्ताधारी गठबन्धनले हामीमाथि आक्रमण गर्ने स्थिति तयार हुन्थ्यो । त्यसैले यो कुरामा पनि मैले नेकपा एमालेको मान सम्मान बढाउने कुरामा जुन खालको भूमिका खेलेँ । त्यसको कतिपय सन्दर्भमा गलत खालको विश्लेषण पनि भएको छ । तर आम कार्यकर्ताकोबीचमा भने सही विश्लेषण भएको जस्तो मलाई लाग्छ ।
जहाँसम्म सर्वसम्मतीको प्रयत्न सफल भएन भने निर्वाचनको विधिपनि लोकतन्त्रको विशेषता हो । यसलाई हामीले अत्यन्तै स्वभाविक रुपमा लिनुपर्दछ । तर अहिले सवाल के हो ? भने सिंगो कम्युनिष्ट आन्दोलन नेकपा एमालेले अगाडि बढाइरहँदा हिजो नेकपा माओवादीसँग जोडिएका र माधव नेपालसँग जोडिएर १० बुँदे सहमतिबाट पार्टीको मूल धारमा सशक्त ढंगले लाग्नु भएका ठूलो पंक्ति पनि हामीसँग छ । उहाँहरुको नेतृत्वमा आउने एउटा समझदारी र सुनिश्चितता गरेर स्वस्थ प्रतिस्पर्धाको आधारमा निर्वाचनको विधिबाट नेतृत्व छान्ने कुरा पनि स्वभाविक नै हो । यसरी हेर्दा मूल रुपमा हामी निर्वाचनमै जाने परिस्थिति पनि देखा परेको छ । यसलाई अस्वभाविक मान्नुहुँदैन । लोकतन्त्रमा प्रतिस्पर्धा हुनुलाई अस्वभाविक मान्न सकिँदैन । तर आजको परिवेश चाहिँ केपी ओलीको नेतृत्व र व्यक्तित्व जुन ढंगबाट अगाडि बढिरहेको र यो मुलुकलाई समृद्ध नेपाल र सुखी नेपालीको अभियान र एउटा परिपूर्ण लोकतन्त्रको व्याख्या गर्दै युवा रोजगारी, गरिबी निवारण, प्रधामन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमसम्म अगाडि बढाउँदै मुलुकलाई औद्योगिकरण गर्ने अभियानको नेतृत्व गर्नुभयो । त्यसको लागि पनि फेरि पनि केपी ओली पार्टीको अध्यक्ष र एकपटक प्रधानमन्त्री बन्नुपर्छ भन्ने महाधिवेशनका आम कार्यकर्ताको भावना र चाहना हो । त्यो भावना र चाहनालाई चुनौती दिएर कमरेड भीम रावलले उम्मेदवारी दिनुभएको छ । यसलाई मैले धेरै अन्यथा ठान्दिन । तर, उहाँलाई के सुझाव छ भने उहाँले पार्टी अध्यक्षको उम्मेदवारी फिर्ता लिएर क.केपी ओलीलाई सर्वसम्मत बनाएर पार्टीभित्र उहाँले सशक्त अन्य भूमिका लिने कुरामा पहल लिँदाखेरि एकदमै स्वभाविक हुन्छ । अन्त्यसम्ममा त्यो खालको परिस्थिति सिर्जना होला भन्ने पनि मलाई लाग्छ ।
क्यापिटल एफ.एमको नियमित कार्यक्रम सिधा कुरामा गरिएको कुराकानीमा आधारित