काठमाडौं । दलित समुदायका पत्रकारहरूले आफूहरूको क्षमता विकास कार्यक्रम ल्याउन माग गरेका छन् । नेपाल पत्रकार महासंघले काठमाडौंमा गरेको ‘दलित समुदायका पत्रकारको अवस्था र महासंघको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा दलित समुदायका पत्रकारहरूले यस्तो माग गरेका हुन् ।
उनीहरूको मागमा सरोकारवाला निकायका प्रमुखहरूले समेत ऐक्यबद्धता जनाएका छन् । दलित समुदायका पत्रकारको क्षमता विकास गराउन नसके उनीहरूका कथाव्यथा सञ्चार माध्यमसम्म पुर्याउनै नसकिने भएकाले क्षमता विकास प्राथमिकतामा पर्नुपर्ने उनीहरूको माग छ। कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले लामो समयदेखि उत्पीडनमा रहेको दलित समुदायले मुक्तिका लागि अक्षरमार्फत् अघि बढ्नुपर्ने बताए। ‘दलित समुदाय चार हजार वर्षदेखि उत्पीडनमा छ, यसको मुक्ति यति सहजै सम्भव छैन,’ उनले भने, ‘यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ। हरेक दलितसँग अलग–अलग कथा छन्, त्यस्ता कथाव्यथाहरू सञ्चार माध्यममा ल्याइनुपर्छ। तपाईहरूको कलमले दलितका त्यस्ता कथाव्यथा लेख्नुपर्छ।’
अध्यक्ष विश्वकर्माले नेपालमा संविधान र कानूनले जातीय विभेद र छुवाछुतलाई निषेध गरेपनि समाजमा अझै त्यस्तो विभेद व्याप्त भएकोमा दुःख व्यक्त गरे। ‘समाजका बुज्रुकहरू नै यो एकैपटक परिवर्तन हुदैन, क्रमश हुन्छ भन्ने गर्छन् । तर, त्यो विस्तार भनेको कहिले हो? यो मानसिकतालाई हामीले कसरी फेर्ने? यसबारे आमसञ्चार माध्यमले धारणा बनाउनुपर्छ,’ अध्यक्ष विश्वकर्माले भने । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रकी नेतृ अञ्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकारहरु एकजुट भएर अघि बढ्न आग्रह गरिन्। राजनीतिक दल, संसद, सरकार र अन्य विभिन्न निकायमा दलित सहभागिता वृद्धि भएपनि दलित समुदायको मुक्तिको मुद्दा प्राथमिकतामा नपरेको बताइन् । ‘दलित सहभागिता बढ्दो छ ।
तर, मुद्दामाा एकता छैन,’ उनले भनिन्, ‘पत्रकारिता क्षेत्रमा पनि त्यस्तै समस्या देखिन्छ। तपाईहरूको एकता र निरन्तरता आवश्यक छ।’ नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले दलित समुदायका पत्रकारको क्षमता विकास र उन्नयनका लागि महासंघ प्रतिबद्ध भएको बताएका थिए। महासंघका पूर्वकेन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अझैपनि सञ्चारगृहमा दलित पत्रकारको समानुपातिक सहभागिता हुन नसकेको बताए। ‘पत्रकारको नाम सुन्ने बित्तिकै ऊमाथि गर्ने व्यवहार फरक पर्छ, पत्रकारले पनि विभेद खेपिरहेका छन्,’ उनले भने, ‘मुलधारका सञ्चार माध्यमले नै दलित समुदायका पत्रकारलाई स्थान दिएका छैनन्।’ लेखक तथा अध्येता जेबी विश्वकर्माले दलित समुदायकाले सञ्चार माध्यमभित्रै विभेद खेपिरहेका बताए।
महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले महासंघले दलित समुदायका पत्रकारहरूको चौतर्फी विकास र सहभागितालाई ध्यानमा राखेर काम गर्ने बताए। कार्यक्रममा बोल्दै राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नालले सञ्चारको क्षेत्रमा इतिहासमा कुटुवाल प्रथादेखि नै महत्वपूर्ण भूमिका हुँदा पनि त्यसको कदर हुन नसकेको बताए। क्रियाशील दलित पत्रकार संघका पवित्रा सुनारले दलित भएकै कारण कार्यक्षेत्र समेत पत्रकारहरुले जातीय विभेद सहनुपर्ने बाध्यता रहेको बताएकी थिइन्।
हाल महासंघको केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका विभिन्न संरचनामा एक सयभन्दा धेरै दलित समुदायका पत्रकार सम्बद्ध छन् भने महासंघका सदस्यमध्ये दलित समुदायका पत्रकारको संख्या एक हजारभन्दा बढी पुगेको छ। कार्यक्रममा दलित समुदायका पत्रकारहरुको अधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रमुख तथा प्रतिनिधि र दलित समुदायका सक्रिय पत्रकार सहभागी थिए।