- डा. सुशिला बैद्य
काठमाडौं - सामान्यतया महिलामा देखिने स्वास्थ्य समस्या मध्ये सेतो वा गन्हाउने पानी बग्ने समस्या एक होे । बिवाहित वा अबिवाहित महिलाहरुमा सामान्य रुपमा योनीबाट सेतो पानी बग्नुलाई नर्मल नै मानिन्छ । महिनावारी भएको बिचको समयमा बाक्लो पानी बग्नुलाई पनि सामान्य मानिन्छ । तर सामान्य अवस्थाभन्दा अत्याधिक मात्रामा भित्री कपडा भिज्ने गरी बग्ने , पानी पहेँलो रंगको छ र धुदाँ पनि गएन छोटो समयमा नै गन्हाएमा त्यसलाई कुनै समस्याको रुपमा लिनुपर्छ ।
धेरैजसो पाठेघरको मुख, भल्भा, भजाइनासँग सम्बन्धित रोगहरु लागेमा सेतो पानी वा गन्हाउने पानी बग्ने गर्दछ । यस्ता समस्या लिएर आउने बिवाहित वा अबिवाहित महिलाहरुलाई परिक्षण गरी के भएको हो भन्ने कुराको टुगो लागेपछि उपचार गरिन्छ ।
सेतो पानी वा गन्हाउने पानी बग्ने समस्या धेरैजसो बिवाहित महिलामा देखिने गर्छ । परिक्षण गराउँदा पाठेघरको मुखमा घाउ भइरहेको हुन्छ । त्यो घाउमा विभिन्न किटाणु तथा ब्याक्टेरीयाले असर पुर्यारहेको हुन्छ । जबसम्म पाठेघरको मुखको घाउ सुक्दैन तबसम्म सेतो वा गन्हाउने पानि बगिरहन्छ ।
महिलाहरुको मुत्रनली छोटो हुन्छ । फोहोर शौचालयमा लामो समयसम्म बस्दा शौचालयको ब्याक्टोरीयाहरु पाठेघरमा सहजै पुग्छ । दिशा गरेपछि राम्ररी नधोएर टिस्यु पेपरले मात्र पुछ्दा बाकिँ रहेको दिशाको किटाणुहरु पिसाब नलि वा भजाइनाको माध्यमबाट भित्र जान्छ ।
बिवाहित महिलाहरुमा पुरुषको माध्यमबाट पनि यस्ता किटाणु तथा ब्याक्टोरीया सर्न सक्छ । पुरुषले आफ्नो लिंग समय समयमा सरसफाइ गरेको छैन भने यौन सम्पर्कको समयमा पुरुष मार्फत पनि रोग सर्ने गर्दछ ।
यो जुनसुकै उमेर समुहका महिलालाई हुनसक्छ । तर धेरैजसो बिवाहित २५ देखि ४० बर्षमा यौन सम्पर्कमा रहने महिलालाई यो समस्या धेरै हुने गर्दछ ।
सामान्य अवस्था भन्दा धेरै भित्री कपडा भिज्ने गरी सेतो पानी मात्र बगेमा एकपटक परिक्षण गर्नु राम्रो, तर अत्याधिक मात्रामा बगेको पानी गन्हाउँछ, धुदाँँ जादैन भने जतिसक्दो छिटो उपचार गराउनुपर्छ ।
कुनै पनि इफेक्टिभ, सुनिने, चिलाउने वा रोग लागेको भागहरुमा लेजर किरणले निको पार्न सकिन्छ । बाहिर चिलाउने समस्या अविवाहित महिलाहरुमा पनि देखिने गर्छ । योनीको बाहिरी भागमा चिलाउने सुनिन्ने भएमा पनि लेजरको माध्यमबाट उपचार गर्न सकिन्छ । लेजरको माध्यमबाट चिलाउने, सुनिन्ने भागमा उपचार गराउँदा एकदम छिटो कम हुन्छ । साथै किटाणुहरु पनि मार्दछ । शारीरिक सम्पर्क भएका महिलामा यस्ता समस्या देखिएमा स्त्रीरोग बिशेषज्ञलाई नै परिक्षण गराउनुपर्छ । उनिहरुमा धेरैजसो पाठेघरको मुखमा घाउ भएको हुनसक्छ । त्यसैले पाठेघरको भिडियो एक्सरे गर्ने, डिम्बाशयहरुको अवस्था हेर्ने र पाठेघरको मुखको पानी पनि परिक्षण गराउनुपर्छ । त्यसपश्चात पाठेघरको अवस्था हेरेर औषधि, दैनिक सरसफाई र लेजर बिकिरणबाट उपचार गर्दा निको हुन्छ ।
बिवाहित महिलाले त्यसपश्चात यौन सम्पर्क गर्दा पुरुषको माध्यमबाट पुन यो समस्या आउँन सक्छ । त्यसबाट बच्नका लागी सरसफाईमा बिशेष ध्यान दिनुपर्छ । एकपटक उपचार गरेपछि ६ महिना १ बर्ष सम्म यस्ता समस्या देखिदैन । तर फेरी समस्या दोहोरीयो जस्तो महशुस हुदाँ एकपटक चिकित्सकलाई देखाउँन आवश्यक हुन्छ ।
लेजर प्रविधि एउटा पेन आकारको हुन्छ जसबाट लाइट आउँछ । त्यसलाई भजाइनाभित्र छिराएर उपचार गरिन्छ । यो दुख्दैन र यसले कुनै साइड इफेक्ट उत्पन्न गराउँदैन । बाहिर भजाइनामा समस्या भएमा टाढैबाट लेजर थेरापी गरिन्छ । पाठेघर भित्र समस्या भए बिकिरण फाइबर प्रोबको माध्यमबाट भित्र लगेर उपचार गरिन्छ । बिकिरणले गर्दा ब्याक्टोरीयाहरु पनि त्यहि मर्छ साथै पाठेघरको मुखको घाउ निको हुन्छ । यस्तो समस्यामा लेजरले राम्रो भुमिका निर्वाह गर्छ । पाठेघरको मुखको घाउ बिग्रेर क्यान्सर हुनुबाट बचाउँछ ।
(डा. सुशिला बैद्य पहिलो लेजर थेरापी बिशेषज्ञ तथा स्त्री रोग बिशेषज्ञ हुन् । उनि लेजर थेरापी क्लिनीकमा आबद्ध छिन् ।)