महोत्तरी । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरेकी छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरिन् ।
‘प्रदेश–२ प्राचीन मिथिलाका अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र राजा जनकसहितका विद्वान, विदुषीको साधना र तपको थलोका रुपमा परिचित छ’, राष्ट्रपति भण्डारीले भनिन, ‘हामीले आफ्नो गौरवपूर्ण विगतलाई सम्मान गर्दै यी सम्बद्ध धरोहरको संरक्षण र सम्वद्र्धन गर्न पर्दछ ।’ मैथिली भाषाका महाकवि विद्यापतिको साधनाले मुलुकको वाङ्मय समृद्ध बनेको पनि उनले चर्चा समेत गरिन् । मुलुकको विकास र पहिचानमा खेलकूद क्षेत्रको महत्वपूर्ण स्थान हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।
यो यथार्थलाई हृदयाङ्गम गरी मटिहानी नगरपालिकाले विशाल रङ्गशाला निर्माण गरेर समयोचित काम गरेको बताइन् । नवनिर्मित रङ्गशालामा हुने अबका नियमित अभ्यासले खेल क्षेत्रमा राष्ट्रिय प्रतिभा जन्माउने विश्वास लिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।
मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।
नेपालको समग्र इतिहासमा मिथिला क्षेत्रले विशिष्ट स्थान ओगटेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले जनकनन्दिनी सीताको जन्मभूमि रहेको यस ठाउँमा अझै जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास र अशिक्षाले सिर्जित गरिबी अहिलेको चुनौती बनेको बताइन् ।
मटिहानीमा ३०० वर्ष पहिले स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् । शैक्षिक जागरणका अग्रदूत बालगुरु षडानन्दलेसमेत अध्ययन गर्नु भएको यो विद्यालयको समयोचित सुधार र विकासमा योगदान पु¥याउनु सबैको दायित्व भएको भण्डारीले बताइन् ।
मटिहानीका धार्मिक सम्पदा लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, तश्मैयाबाबाको खन्ती, पिरबाबा मजारस्थान, लक्ष्मीसागर र नजिकको जलेश्वरनाथ महादेव मन्दिरको संरक्षण, सम्बद्र्धनमा पहलकदमी लिन सकेमात्र आफ्नो गौरवपूर्ण विगत सन्ततिले देख्न/ बुझ्न पाउने उनले उल्लेख गरिन् ।
समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य सङ्घले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गरेकी थिइन् ।
मटिहानीको कार्यक्रमपछि राष्ट्रपति भण्डारीले जलेश्वरस्थित श्रीजलेश्वरनाथ महादेवको दर्शन र पूजाअर्चना गरिन् । त्यहाँ जलेश्वर नगरप्रमुख रामशङ्कर मिश्रसहितका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र उद्योगी व्यवसायीले राष्ट्रपतिलाई स्वागत अभिवादन गरेका थिए ।
रासस