काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रूपमा मतदाता नामावली संकनल गर्ने भएको छ।
आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माका अनुसार सबै स्थानीय तहको केन्द्रबाट मतादता नामावली संकलन हुनेछ ।
आयोगले मतदाता नामावली गर्न हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन गर्नेछ ।
आयोग हाल ७७ वटै निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन र ४० वटा इलाका प्रशासन कार्यालयमार्फत पनि मतदाता नामावली संकलन गरिरहेको छ ।
अभियानका रुपमा थप ६३७ वटा स्थानीय तहको केन्द्रबाट पनि नाम संकलन गरिने शर्माले जानकारी दिए । मतदाता नामावली संकलन दुई चरणमा संकलन गर्ने कार्य तालिका आयोगले तयार पारेको छ ।
मतदाता ऐनअनुसार १६ वर्ष उमेर पुगेर नागरिकता लिएका व्यक्तिहरुले नाम लेखाउन सक्नेछन् । आफ्नो स्थायी बसोबास भन्दा अन्यत्र बसेका व्यक्तिहरुले समेत मतदता नामावली नाम लेखाउन सक्नेछन् । र उनीहरुको नाम सम्बन्धित वडामै कायम रहने गरी पठाइनेछ ।
मतदाता नामावली संकलन कार्यमा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । शर्माका अनुसार आउँदो पौष २० गते भित्र सबै स्थानीय तहमा मतदाता नामावलीको सङ्कलन भइसक्नेछ ।
२०७७ पौष ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई समावेश गरी आयोगबाट २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता थिए । अब अभियानबाट थप १० लाख मतदाता थपिने आयोगको अनुमान छ ।
आयोगले अभियान सफल बनाउन राजनीतिक दल, तीनै तहका सरकार र नागरिक समाजलाई आह्वानसमेत गरेको छ ।