काठमाडौं । नेपाल परिवार दलका तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित भएका छन् ।
शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको छ । ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ ।
महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।
महाधिवेशनबाट थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवश्यक पर्ने सुधारको लागि संविधान सुधार सिफारिस आयोग गठन गर्नुपर्ने बिषय पारित गरेको छ ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षद्वय विनोद डाँगी तथा गणेशकुमार श्रेष्ठ, महामन्त्रीद्वय सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा तथा सह–महामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुलकैयुम शाह, अशोककुमार चौधरी, कोषाध्यक्ष गोविन्दनाथ मिश्र, सहकोषाध्यक्ष बुद्धिमाया पुनमगरलाई चयन गरेको छ ।
यसैगरी, महाधिवेशनबाट ८५ जना केन्द्रीय सदस्य चयन गरिएको छ भने भौगोलिक तथा समावेशी समूहबाट ४ जना मनोनित गरिने जनाइएको छ ।
नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई आर्थिक क्रान्तिको दशक’ घोषणा गर्दै तराई मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।
महाधिवेशनले राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । काठमाडौंमा भएको महाधिवेशन मंगलबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । एमाले अध्यक्ष ओलीद्वारा सहकार्य गर्न परिवार दलसँग आव्हान गरेका छन् ।
महाधिवेशनमा बोल्दै परिवार दल विकासप्रेमी र शान्तिवादी पार्टी भएकाले एमालेले विगतमा पनि सहकार्य गरेको स्मरण गर्दै अगामी दिनमा पनि सहकार्य हुनेमा जोड दिए । थप उचाई र फराकिलो सोचका साथ सहकार्य गर्न आव्हान गर्दै छोटो समयमा परिवार दलले देशव्यापी रुपमा संगठन विस्तार गर्न सफल भएकोमा बधाई दिए । अध्यक्ष ओलीले अहिले न्यायालयमा भईरहेको आन्दोलनको औचित्य नभएको पनि स्पष्ट पारे ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवार दलले मूल्य र मान्यताको राजनीतिक गर्ने पार्टी भएको बताउँदै परिवार दलले नेपाली राजनीतिमा शान्तिको सन्देशको प्रवाह गरेको बताए ।