काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशनको काठमाडौं जिल्लाको नजिता प्रकाशित भएको छ । शुक्रबार अधिवेशन भएका प्रदेश सभाका १८ क्षेत्रमध्ये १४ ठाउँमा नेता प्रकाशमान सिंह निकट नेताहरु निर्वाचित भएका छन् ।
काठमाडौं जिल्ला २० वटा प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गत १८ वटामा शुक्रबार अधिवेशन भएको थियो । काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र (ख)मा शनिबार अधिवेशन हुदैँ छ ।
शुक्रबार अधिवेशन भएकामध्ये ७ वटा क्षेत्रमा सर्वसम्मत र ११ वटामा निर्वाचनमार्फत सभापति चयन भएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ को (ख)मा रामप्रसाद लुइँटेल, ६ को (क) ख्याम राज तिवारी, ७ को (क) मा नवीन मानन्धर, ९ को (ख)मा राजेन्द्र भट्टराई, १० को (क)मा शैलेश मानन्धर तथा (ख) मा धर्मानन्द श्रेष्ठ निर्विरोध (सर्वसम्मत) निर्वाचित भएका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा ध्रुव केसी र (ख)मा उद्धव खड्का, क्षेत्र नम्बर ३ को (क)मा श्रीराम चालिसे र (ख)मा विमल ठकुरी निर्वाचित भएका छन् । यस्तै, क्षेत्र नम्बर ४ को (क)मा विमल हाडा, क्षेत्र नम्बर ५ को (क)मा दिनेश डंगोल र (ख)मा राजु खड्का, क्षेत्र नम्बर ६ को (ख)मा विश्रुभक्त तिमिल्सिना, क्षेत्र नम्बर ७ (ख)मा वासुदेव लामा, क्षेत्र नम्बर ८ को (ख)मा शिव खनाल र क्षेत्र नम्बर ९ को (क) मा मोहन बहादुर बस्नेत विजयी भएका छन् ।
क्षेत्र नम्बर ३ को (ख)मा निर्वाचित विमल ठकुरी र ६ को (ख)मा निर्वाचित विश्नुभक्त तिमिल्सिना तथा क्षेत्र नम्बर ४ (क) का विमल हाडा र (ख)का रामप्रसाद लुइँटेल बाहेक अन्य सबै प्रदेश सभा क्षेत्रको सभापतिमा निर्वाचित (चयन)भएकाहरू नेता प्रकाशमान सिंह निकट हुन् ।
क्षेत्र नम्बर ३ को (ख)मा निर्वाचित ठकुरी सभापति शेरबहादुर देउवा निकट हुन भने क्षेत्र नम्बर ६ को (ख) मा निर्वाचित तिमिल्सिना नेता भिमसेनदास प्रधान निकट हुन् । यस्तै, क्षेत्र नम्बर ४ को (क) का हाडा र (ख) का लुइँटेल नेता गगन थापा निकट हुन् ।