काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरूमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । यसैगरी, शनिबार दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखि सामान्य बदली रहने छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राति देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखी सामान्य बदली रहने छ । कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।