अमेरिका र इरानबीचको तनावले युद्धको रुप लिने र त्यसबाट विश्वयुद्ध समेत हुनसक्ने आंशका चलिरहेको बेला इरानले अमेरिकामाथि सैन्य आक्रमण शुरु गरेको छ । इराकको अल हसद र इरविलमा रहेको अमेरिकी सैन्य अखडामा (नेपाली समय अनुसार) आज विहानै आक्रमण गरेको हो ।
पहिलो आक्रमण अल असदमा रहेको अमेरिकी सैन्य क्याम्पमा गरिएको थियो भने त्यसको केही समयपछि एरबिलमा आक्रमण गरिएको समाचार इरानी टेलिभिजनले प्रशारण गरिरहेको छ ।
त्यसक्रममा करिब १ दर्जन मिसानइल आक्रमण गरिएको जानकारी अन्तराष्ट्रिय संचारमाध्यमहरुले दिएका छन् । आक्रमणमा परि अहिलेसम्म कति धलमालको नोक्सान भयो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । ह्वाइट हाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै ‘हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे थाहा पाएका छौ । राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्,’ भनेकी छन् ।
अमेरिकी रक्षा मन्त्रालय पेण्टागनले घटनाको पुष्टि गर्दै इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौ व्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनेरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो । गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएका थिए । त्यस लगत्तै देखि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ । इरानले उक्त हत्याको बदला लिने बताउदै आएको छ ।
क्षेप्यास्त्र प्रहार पछि इरानले आफू माथि कुनै पनि प्रकारको प्रतिकार गरिए त्यसको वदलामा आफूले थप आक्रमण गर्ने चेतावनी पनि दिएको छ । अमेरिकी रक्षा अधिकारीहरूले भने त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन् । हाल इराकमा ५ हजार अमेरिकी सैनिक छन् ।
इरानले भने अमेरिकी सेनालाई आतंककारी संगठन भएको घोषणा पनि गरेको छ । ‘हामी अमेरिकाको आतङ्ककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौ कि इरानविरूद्ध आक्रमणमा प्रयोग हुनसक्ने सबै शिविरहरूलाई निसाना बनाइने छ’ इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको इरानी सेनाको एउटा वक्तव्यमा उल्लेख छ ।