काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशीक लगानी बढाउनु पर्नेका जोड दिएका छन् । काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन् ।
मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले भारतबाट आयात गर्ने मात्र नभइ नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने बताए ।
शर्माले भने, ‘नेपालमा भारतको तुलनामा श्रम सस्तो छ, बिजुली भारतको भन्दा १४ रुपैयाँ सस्तो छ, भारतमा उद्योगले प्रति युनिट २० रुपैयाँ तिर्ने गरेका छन् तर नेपालमा उद्योग खोले ६ रुपैयाँ प्रति युनिट बिजुली दिन्छौँ, उद्योगलाई चाहिने जग्गा लगायत अन्य सबै सुविधासहित आवश्यक कर छुट समेत सरकारले दिन्छ, फर्मा ट्याक्टरले नेपालमा कारखाना खोलेर अन्य देशमा निर्यात गर्न मेरो आग्रह छ ।’
अर्थमन्त्री शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको बताए । उनले नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरु भएको बताउँदै त्यस्ता स्रोतहरु प्रविधिसँग संयोजन गरी उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।
कृषि ग्रुप अन्तरगतको यति टेक्निक फार्मले सार्वजनिक गरेको फर्मा ट्याक्टर युरोपेली प्रविधिको ट्याक्टर हो । यसले नेपालमा कृषिमा आधारित समुदायको गुणस्तरमा सुधार हुने र उद्यम, उद्यमशीलतामा विकास हुने पनि अर्थमन्त्री शर्माले बताउनु भयो ।