काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । बिहीबार दिउँसो २ बजे बस्नेगरि फुलकोर्ट बोलाइएको मुख्य रजिस्ट्रार लालबाबु कुँवरले जानकारी दिए । बैठकमा प्रधानन्यायाधीश सहित २० जना बस्ने छन् ।
यसअघि बुधबार सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरुले फुलकोर्ट बोलाउने सहमति गरेका थिए । बुधबार बसेको न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै फुलकोर्ट बोलाउने निर्णय गरेको थियो ।
नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरुबीच सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुटकोर्ट बोलाउन आग्रह गर्ने निर्णय गरेका थिए । सामूहिक छलफलमा रहेका ती न्यायाधीशका अनुसार बुधबार बसेको प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठकमा नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो ।
जसमा इजलास तोक्न गोलाप्रथा लागू गर्नेलगायतका विषय रहेका छन । उक्त सहमतिसँगै १४ न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न निर्देशन दिएका थिए।
उनीहरुले मुख्य रजिष्ट्रारलाई निर्देशन दिएपछि प्रधानन्यायाधीश राणाले फुलकोर्ट आह्वान गरेका हुन् । न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधनसम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताउँदै आएका छन् ।
उनीहरुले गोलाबाट पेसी तोकेर इजलास सुरु गरे पनि प्रधानन्यायाधीश जबरासँग भने इजलास सेयर नगर्ने सहमति गरेका छन् । बिहीबारको न्यायाधीशहरुको बैठकमा नियमित इजलासमा गएका न्यायाधीशहरु सहभागी थिएनन्।
कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका न्यायाधीशहरु अब गोलाबाट पेसी तोकिएपछि इजलासमा फर्कने छन् ।