काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपि गजुरेलेले जनतालाई भ्रम छर्ने मुख्य खलनायक नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भएको बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरासँग कुराकानी गर्दै नेता गजुरेलले प्रचण्ड नै भ्रम छर्ने मुख्य खलनायक भएको भन्दै अहिलेको व्यवस्था असफल भइसकेको टिप्पणी गरे । उनले यसको विकल्प खोज्न आवश्यक रहेको पनि बताएका छन् ।
देशमा आमूल परिवर्तन गर्ने, समाजलाई रुपान्तरण गर्ने उद्देश्यका साथ आफूहरुले संघर्ष गर्दै आएको भएपनि त्यसमा ठूलो विश्वास घात भएको उनले बताए । उनले क्रान्तिप्रति धोका भएको पनि बताए ।
‘देशमा आमूल परिवर्तन गर्ने, समाजलाई रुपान्तरण गर्ने उद्देश्यका साथ हामीहरुले संघर्ष गर्दै आएका छौं । दश वर्षे जनयुद्ध पनि भयो । त्यसमा जनताको सहयोग पनि भयो,’ उनले भने, ‘तर त्यो क्रान्तिले पूर्णता पाउनु अगाडि नै त्यसमाथि विश्वासघात भयो । त्यसको असर अहिले हामीले भोगिरहेका छौं ।’
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तीन वटै अंगहरु असफल भइसकेको उनले बताएका छन् । उनले यी तीन वटै देशका प्रमुख अंगहरु नै असफल भइसकेपपछि अब यो व्यवस्थाले कसरी नेपाली जनताहरुको समस्या हल गर्ला ? राष्ट्रिय स्वाधिनता कसरी जोगाउला ? र, कसरी नेपाललाई समृृद्ध बनाउला ? भन्दै प्रश्नसमेत गरेका छन् ।
गजुरेलले अहिले देशमा देखिएको समस्या कुनै व्यक्तिलाई बदलेर हल हुने समस्या नभइ व्यवस्थाकै समस्या भएको बताएका छन् । त्यसले गर्दा व्यक्तिहरु बदलिरहँदा पनि झन्–झन् स्थिति विकराल हुँदै गएको टिप्पणी गरे ।
‘व्यवस्था ठिक भएर पनि कहिलेकाँहि त्यसका संचालकहरुले गल्ती गरेर त्यहाँ केही समस्याहरु पैदा हुन्छ, त्यो एउटा पक्ष हो । तर, मूल पक्ष भने त्यो होइन,’ उनले भने, ‘ओलीको विरुद्ध संघर्ष भैरहँदाखेरी ओलीलाई हटाउनुपर्छ । ओलीले लोकतन्त्र समाप्त पार्न पार्न थाले भन्दै ओलीलाई मुख्य कारण बनाइएको थियो । ओलीले गर्दा यो सबै भएको हो । ओली गएपछि सबै ठिक हुन्छ भनिएको थियो । ओली गए त खै सबै कुरा ठिक भयो ? भएन नि । किनभने व्यक्तिको कमजोरीले गर्दा वा व्यक्तिका गलत क्रियाकलापले केही गलत हुन्छ भने त्यो व्यक्ति फेरिए पछि त सहि हुनुपर्ने नि ? तर भएन । यसको अर्थ अहिले व्यवस्थाकै समस्या हो ।’