काठमाडौं । कतारसँगको टी–२० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको पहिलो खेलमा १ सय १९ रनले विजयी भएको नेपाली महिला राष्ट्रिय टीम दोस्रो खेलमा ६१ रनले विजयी भएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । उसका लागि कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय पारी खेल्दा कविता कुँवरले ३१ र अप्सी बेगमले अविजित रहँदै २३ रन बनाए ।
बलिङतर्फ एन्जेलिन मारेले दुई विकेट लिइन् । १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतारको महिला टीमले १९.३ ओभरमा सबै विकेट गुमाएर ६८ रनमा समेटियो ।
उसका लागि कप्तान आयसाले २४ तथा केरि पोनसेटले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालका सरस्वती कुमारी एक्लैले चार विकेट लिँदा रुबिना क्षेत्रीले दुई विकेट लिइन् ।
तीन खेलको सिरिजको अन्तिम खेल बिहीबार दिउँसो पौने चार बजे हुनेछ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको सिरिज खेलेको हो ।
एसिया छनोट आगामी सोमबारदेखि युएईमा हुँदैछ । जसका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ जाँदैछ ।
पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ७ गते भुटान, ९ गते कुवेत, १० गते मलेसिया र १२ गते युएईसँग खेल्ने तालिका छ ।
एसिया छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन् । शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउनेछ ।