भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले सरकारले भक्तपुरको विकास काटेर महेश बस्नेतलाई प्रहार गर्न लागिपरेको आरोप लगाएका छन् ।
बस्नेतले जिल्लाको सूर्यवियनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित भारआली घट्टेखोला पुलको शिलान्यास गर्दै भक्तपुरमा महेश बस्नेतलाई प्रहार गर्न अर्थमन्त्रीलाई भूत चढेको बताए । उनले भक्तपुरमा वर्तमान सरकारले ३१ वटा सडकहरु बजेट काटेको बताए । बस्नेतले भने, ‘भक्तपुरमा वर्तमान सरकारले काटेका ३१ वटा सडकहरुलाई पुनः ल्याउनु पर्नेछ, जसमा सरकारवादी दलहरुले पनि पहल गर्नुपर्ने अवस्था आएको छ ।’
बस्नेतले सूर्यविनायक धुलीखेल सडकमा आएको दुई अर्ब तथा अस्पताल निर्माण गर्नको लागि दुई अर्ब बजेट काटेको बताए । बस्नेतले भने, ‘देशभर १४ सयवटा सडक काटेको छ । जसमा भक्तपुरमा मात्र ३१ वटा सडक वर्तमान सरकारले काटेको छ ।’
कुनै पनि विकासको योजना काटेर जनताको मन जित्न नसकिने बताउँदै बस्नेतले मन जित्न त विकासका काम गर्नुपर्ने बताए । बस्नेतले भने, ‘भक्तपुरमा एमालेको नेतृत्वले विकास काटेर हैन, जनताको आवश्यकता र चाहना अनुसारका आयोजनाहरु सञ्चालन गरेर जनप्रिय बनेको छ ।’
भक्तपुरको विकास जनताले देख्ने र सुन्ने अवस्थामा नभई प्रयोग गर्ने अवस्थामा रहेको बस्नेतले बताए । भक्तपुरमा विकासका बजेटहरु आफै आएको भनेर भ्रम सिर्जना गर्नेहरुलाई कटाक्ष गर्दै विगतमा आफ्नो नेतृत्वमा सिन्को भाँच्न नसक्नेले जनताको आँखामा छारो लगाउने कार्य नगर्न चेतावनी दिए ।
भक्तपुरको आवश्यकता पूरा गर्न नेकपा एमालेले सरकारको नेतृत्व गरिरहनु नपर्ने बताउँदै बस्नेतले भने, ‘भक्तपुरको विकासको गतिमा जनताले कुनै चिन्ता लिनु पर्दैन । नेकपा एमाले सरकारमा भए पनि नभएपनि भक्तपुरमा विकास हुन्छ । भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने अवस्था बनेको छ । वडाको माध्यमबाट योजना बनाउनुस् । बजेटको व्यवस्थापन गर्ने जिम्मा हाम्रो हो ।’
विगतमा भक्तपुरमा नेपाली कांग्रेस ठूलो शक्ति रुपमा रहेको समयमा भ्रष्टाचार, अनियमिता, भूमाफियालगायतका नेतृत्व कर्ता मात्र बनेको उल्लेख गर्दै नेता बस्नेतले अबका दिनमा जिल्लाको विकास र समृद्धिको नेतृत्वकर्ता एमालेको कुनै विकल्प नभएकाले कांग्रेसको अवस्था नगन्य मात्र भएको बताए । विकासका योजना काटेर जनताको मन जित्न नसक्ने उल्लेख गर्दै नेता बस्नेतले वर्तमान सरकाले देशभर तथा भक्तपुरका आयोजनाहरु काटेको प्रति आक्रोस व्यक्त गरे ।