कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका– ७ र अर्घाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन आगामी पुसभित्र सञ्चालनमा ल्याउने जनाएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमश: आगामी १५ मंसिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको जनएको छ ।
बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको अन्तिम चरणका काम भइरहेको छ । सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरू रहने प्राधिकरणले जनाएको छ । सबस्टेसनका सम्पूर्ण उपकरणहरूको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ । पूर्व–पश्चिम १३२ केभी लाइनलाई आठवटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिनेछ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको उल्लेख गरिएको छ।
आयोजनाअन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको, ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाँगिएको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ । यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण आगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेसनहरूको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मी जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।
विद्युत्को प्राविधिक चुहावट पनि कम हुनेछ । अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या छ । साथै, प्राविधिक चुहावट पनि छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेसन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्नुपर्ने बताए ।
‘अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्प झ्याप्प बत्ती गएको भन्दै मलाई सिधै फोन गरी धेरै गुनासा आएका छन्, उपभोक्ताबाट गाली खाएका छौँ, त्यसैले सबस्टेसन र प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् दिनुपर्छ ।’