प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
ल्होछारका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरुको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षा गरेका छन्। 'हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो।
यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्।' प्रधानमन्त्रीले आफ्नाे शुभकामना सन्देशमा भनेका छन्, 'यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण गर्दै आएका छौं।
तमु समुदायको महान् पर्व तमु ल्होछारका अवसरमा तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ।'
नेपालमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रुपमा रहेकाे उनकाे भनाइ छ। 'एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ।
विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्।' प्रधानमन्त्रीले भनेका छन्, 'नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ।
विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ।'