काठमाडौं । काठमाडौं महानगरको वडा ७ मा आज मैजुबहाल पार्कको शिलान्यास भएको छ ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पार्कको शिलान्यास गरेका हुन् । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष शुद्धकुमार डंगोलसहित जनप्रतिनिधि र स्थानीयबासीको सहभागिता रहेको थियो ।
५३ लाख ६२ हजार ३ सय रुपैयाँ लागत अनुमान गरिएको पार्क निर्माणका लागि शारदादृेवी कन्स्ट्रक्सनले ३३ लाख ६५ हजार १९२ रुपैयाँमा कवोल गरेको छ । निर्माण पक्षलाई गएको असोज ६ गते कार्यादेश दिइसकिएको छ । आउँदो चैत मसान्तभित्र निर्माण सम्पन्न गरिसक्ने गरी कामको जिम्मा दिइएको हो ।
शिलान्यास अवसरमा बोल्दै प्रमुख शाक्यले, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, आर्थिक, सामाजिक तथा पर्यटन विकास, सम्पदाको पुननिर्माणलगायत महानगरबासीले आवश्यकता महसुस गरेका सबै क्षेत्रमा काठमाडौं महानगरले लगानी गरेको बताए । ‘स्थानीयले मागेका र विवाद नभएका सबै योजनामा हामीले बजेट उपलब्ध गराएका छौं । निर्माण पछि सञ्चालन व्यवस्थापनको जिम्मा पनि स्थानीयलाई नै हस्तान्तरण गरेका छौं ।’ उनले भने, ‘कमलपोखरी पुननिर्माण भइसकेको छ । शंखपार्कको सौन्दर्य बढाएका छौँ । यस्तै धेरै पार्कहरु बनेका छन् । तपाईंहरु पनि ती पार्कमा गएर घुम्नोस् । यसले छिमेकी वडामा भएका कामका बारेमा थाहा हुन्छ । यस्तै त्यसको व्यवस्थापन हेरेर आफ्नो ठाउँको विकासमा काम गर्न सकिन्छ ।’
त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, खुल्ला ठाउँ बचाएर पार्क बनाउने महानगरको नीति कार्यान्वयनमा आएपछि धेरै ठाउँका खुल्ला क्षेत्र बचाउन सकिएको बताइन् । जनताका आधारभूत र तात्कालीन आवश्यकता पूरा गर्ने त्यसपछि ठूला र महत्वाकांक्षी योजनामा लाग्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले अवस्था र आवश्यकता जोडेर क्रमिक विकासमा लाग्नुपर्ने बताइन् ।
हामीले निर्वाचनकै समयमा यस ठाउँमा पार्क बनाउने भनेका थियौं । आज निर्माण कार्यका लागि शिलान्यास भएपछि आफूले बोलेको बचन पूरा हुने चरणमा पुगेको महसुस भएको छ । कार्यक्रममा वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले, आफूले सन्तुलित र व्यवस्थित विकास तथा सेवा प्रवाहका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरे ।
सडक किनारामा रहेको करिब २ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुनेछ ।