काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता बिनित उपाध्यायले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नहुने बताएका छन् ।
क्यापिटल एफएमको नियमित कार्यक्रम क्यापिटल फ्रन्टलाइनसँग कुरा गर्दै प्रवक्ता उपाध्यायले पछिल्लो डेढ महिनाको अवधिमा निगमले प्राप्त गर्ने मूल्य सूची एकाएक बढेर आउँदा निगम मूल्य बढाउन बाध्य भएको बताएका छन् ।
सामान्यता पहिला २/३ रुपैयाँ बढेर आउने घटेपनि त्यही अनुसारले घट्ने गरेको भएपनि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य ७/७ रुपैयाँसम्म बढेर आएको उनले बताएका छन् । उपाध्यायले भने, ‘निगमले प्राप्त गर्ने मूल्य सूची अनुसार समायोजन गर्न नसक्दा १५ दिनमा मात्रै ३ अर्ब २ करोड रुपैयाँ घाटा बेहोर्नु परेकाले निगमले बाध्य भएर मूल्य बढाउनु हो ।’
प्रवक्ता उपाध्यायले आयल निगमभित्र कुनै किसिमको अनियमितता नरहेको दाबी पनि गरेका छन् । निगम सरकारको स्वामित्वमा भएको संस्था भएका कारण यहाँ हुने सबै आर्थिक गतिविधि, कारोबारहरु निर्देशित सिद्धान्तभित्र रहेर नै भइरहेको र कर्मचारीहरुले त्यही नीति नियम, कानुनभित्र रहेर काम गरिरहेको उनले बताए ।
उनले नेपाल आयल निगमको कर्मचारीहरुले घाटा भएको बेला पनि बोनस खान्छन् भन्ने कुरामा कुनै पनि सत्यता नरहेको बताएका छन् । पछिल्लो पाँच वर्षमा निगमको कुनै हिसाब किताब छैन पूरै लथालिङ्ग छ भन्ने कुरामा पनि सत्यता नरहेको बताउँदै प्रवक्ता उपाध्यायले भने, ‘हाम्रो एकदमै समयमै लेखापरीक्षण भइरहेको छ । मलाई जहाँसम्म लाग्छ २०७७/०७८ को जुन लेखा परीक्षणको रिपोर्ट छ, त्यो निगमको साधारण सभामा पेश हुन्छ । र, त्यहाँबाट पारित हुन्छ ।’
उनले नेपाल सरकारले निगमलाई अनुदान दिने गरेको भन्ने कुरा पनि लगत भएको बताएका छन् । बिगतका केही वर्षमा निगम अत्याधिक घाटामा जाँदा सरकारले विभिन्न सार्वजनिक संस्थानको जग्गाहरु कर्मचारी संचयकोष, नागरिक लगानी कोष, नेपाल बैंक, राष्ट्र बैंक त्यस्ता संस्थाहरुमा राखेर ऋण उपलब्ध गराइ दिएको र त्यो ऋणबाट निगमले पेट्रोलयम पदार्थ खरिद गरेर बिक्री वितरणको व्यवस्था मिलाइएको बताए । तर, पछिल्लो समय २०७१/०७२ साल लागि सकेपछि निगमले पुराना ऋणहरु तिर्दै गएर मुनाफामा जाँदै गयो र फेरि कोभिडको संक्रमण फैलिए पछि अन्तर्राष्ट्रिय बजारमा एकाएक मूख्य घट्दा निगमले प्रति लिटन १० रुपैयाँसम्म पनि मूल्य घटाएको उनले बताए । तर, फेरि पछिल्लो समय पेट्रोलियम पद्धार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा नै निरन्तर उकालो लाग्दै जादाँ निगमले बाध्य भएर मूल्य बृद्धि गर्नु परेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८ १०:५२