काठमाडौं । सरकारले आइतबारदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउँदैछ । १२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन लागेको हो ।
यो खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ । सरकारले कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६३० मात्रा प्राप्त गरेको थियो ।
खोप सेसन सञ्चालन तथा व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना खोप दिने स्वास्थ्यकर्मी, निगरानी तथा व्यवस्थापनका लागि एक चिकित्सक र अस्पतालको तथ्यांक हेर्ने व्यक्ति परिचालन गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ । खोप केन्द्र तोकिएका ठाउँहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइनेछ ।
उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ । काठमाडौं उपत्यकामा खोप लगाइने ८ अस्पतालहरुमा वीर अस्पताल,त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल,सहिद गंगालाल हृदय केन्द्र,भक्तपुर क्यान्सर अस्पताल,पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र वीरेन्द्र सैनिक अस्पताल रहेका छन् ।
त्यस्तै उपत्यका बाहिरका खोप लगाइने अस्पतालहरुमा मेची अस्पताल,बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,जनकपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल,गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल,भेरी अस्पताल,डडेलधुरा अस्पताल, कोशी अस्पताल,गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान,नारायणी अस्पताल,धुलिखेल अस्पताल,धवलागिरि अस्पताल,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली प्रादेशिक अस्पताल र सेती अस्पताल रहेको खोप शाखाले जनाएको छ ।