काठमाडौं । कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ ।
यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने महाशाखाका प्रमुख सागर दाहालले बताए । आइतबार देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।
दाहालका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।
खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रुपमा लैजानुपर्ने छ । फाइजर खोप भायलमा उपलब्ध हुने भएकाले बाक्लो झोलको रुपमा रहने उनले बताए ।
यो खोप सामान्य अवस्थामा झोल वा सेतो हल्का धमिलो सेतो रङको हुन्छ । फाइजर खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ । घोलेपछि एक भायलमा ६ मात्रा हुने उनको भनाइ छ ।
त्यसैले फाइजर खोप लगाउन जाँदा कोरोनाविरुद्धको अन्य खोप लगाउनभन्दा बढी समय लाग्नसक्ने पनि उनले बताए । उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ ।
काठमाडौं उपत्यकामा खोप लगाइने ८ अस्पतालहरुमा वीर अस्पताल,त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल,सहिद गंगालाल हृदय केन्द्र,भक्तपुर क्यान्सर अस्पताल,पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र वीरेन्द्र सैनिक अस्पताल रहेका छन् ।
त्यस्तै उपत्यका बाहिरका खोप लगाइने अस्पतालहरुमा मेची अस्पताल,बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,जनकपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल,गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल,भेरी अस्पताल,डडेलधुरा अस्पताल, कोशी अस्पताल,गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान,नारायणी अस्पताल,धुलिखेल अस्पताल,धवलागिरि अस्पताल,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली प्रादेशिक अस्पताल र सेती अस्पताल रहेको खोप शाखाले जनाएको छ ।