काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा ग्याँस तथा पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार घाटा थेग्न नसकेको भन्दै नेपाल आयल निगमले पछिल्लो १२ दिनमा दुईपटक गरेर पेट्रोल, डिजेल र मट्टीतेलमा ६–६ रुपैयाँ र हवाई इन्धनमा १५ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्याँसमा एक सय २५ रुपैयाँ प्रति सिलिन्डर मूल्य बृद्धि गरेको छ ।
यो बृद्धिपछि पनि नेपाल आयम निगम अझै आगामी १५ दिनमा २ अर्ब ६२ करोड घाटामा रहेको बताउँदै आएको छ । फलतः फेरि पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुन सक्ने आंकलन गर्न थालिएको छ । यसलाई स्वयं आयल निगमका जिम्मेवार पदाधिकारीहरु समेत स्वीकारिसकेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको तेलको मूल्यका कारण नेपालमा पनि अझै पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुन सक्ने आयल निगमको तर्क छ ।
एकातिर अस्वभाविक रुपमा सर्वसाधारण नेपालीहरुको ढाँड सक्ने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि भइरहेको छ भने अर्काेतर्फ नेपाल आयल निगम भित्र व्यय भार थपिँदो छ ।
विभिन्न शीर्षकमा आयल निगमका कर्मचारीहरुले एक पछि अर्काे सेवा सुविधा कार्यकारी बोर्डबाट निर्णय गराउँदै वितरण गरिररहेका छन् । घाटामा गएको देखाउँदै आएको निगमले आफ्ना कर्मचारीलाई विभिन्न शीर्षकमा सेवा सुविधा दिन भने कुनै हिच्किचाहट गरेको देखिँदैन ।
निगम कर्मचारीले दैनिक, मासिक तथा बार्षिक रुपमा प्राप्त गर्ने भत्ता तथा सेवा सुविधा टिठ लाग्दो देखिन्छ भने औषधि, यातायात तथा भ्रमण खर्च बापत प्राप्त गर्ने सेवा सुविधा हेर्दा आयल निगम घाटामा होइन नाफा गएको जस्तो देखिन्छ । अहिले पनि निगमका कर्मचारीले दैनिक यातायात भत्ता वापत १७५ रुपैयाँ, लुगा धुने भत्ता १५ रुपैयाँ र खाजा खर्च बापत १०० रुपैयाँ प्राप्त गर्छन् । त्यसैगरी मासिक रुपमा पेट्रोलियम जोखिम भत्ता स्वरुप ४ हजार ५ सय रुपैयाँ र महँगी भत्ता बापत २ हजार रुपैयाँ प्राप्त गर्छन् । त्यसो त बार्षिक रुपमा निगम कर्मचारीले प्राप्त गर्ने भत्ताको स्वरुप झनै अनौठो लाग्छ । निगमका कर्मचारी भए बापत बार्षिक रुपमा पोशाक भत्ता बर्षको दुई पटक गरी २५ हजार रुपैयाँ, घर रंगरोगन खर्च ४ हजार २ सय देखि ६ हजार सम्म, चाडपर्व भत्ता एक महिनाको तलब बराबर प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
त्यसो त निगम कर्मचारीहरुले तत्कालिन अवस्थामा पुरुष सांसदले सुत्केरी भत्ता लिएजस्तै विरामी नै नभएपनि बर्षको एक पटक अधिकृले एक महिनाको तलब बराबर, सहायक स्तरले डेढ महिनाको तलब बराबर, सहायक स्तरले दुई महिनाको तलब बराबरको सेवा सुविधा अनिवार्य रुपमा औषधि खर्च प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी निगम कर्मचारीहरुलाई भ्रमण भत्ता स्वरुप देशभित्र र बाहिर गरी दुई थरि भत्ताको व्यवस्था गरिएको छ । देशभित्र भ्रमण गर्दा अधिकृत स्तरलाई दैनिक २ हजार र सहायक स्तरलाई १ हजार २ सयको व्यवस्था गरिएको छ भने विदेश जाँदा दैनिक ७५ डलर वा सो भन्दा माथिको व्यवस्था गरिएको छ ।
यी र यस्ता अन्य सेवा सुविधाहरु पनि आयल निगममा कर्मचारी भए बापत सेवा प्राप्त गर्न सकिन्छ । कुनै पनि कर्मचारीले आफूले खाइपाइ आएको ७ बर्षको तलब बराबर ऋण १ प्रतिशत ब्याज दरमा पाउन सकिने व्यवस्था पनि गरिएको छ ।
निगम कर्मचारीकै लागि बाँडिने भत्ता स्वरुप मासिक ८२ लाख भन्दा बढी रकम निगमबाट खर्च भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
एकातिर घाटामा गएको तथ्याङ्क सार्वजनिक गर्ने अनि अर्काेतर्फ आयल निगम कर्मचारीलाई विभिन्न शीर्षकमा फजूल खर्च गरेर निगमलाई टाट पल्टाउने दाउमा निगम सञ्चालक समिति नै लागिपरहेको छ । यस्तो वेथितिबाट सञ्चालन भइरहेको निगमलाई सरकारले भने अनुदान दिएर मौन बसिरहेको छ ।
मूल्य बृद्धिप्रति विद्यार्थीको आक्रोस :
बुधबारबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँस तथा पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिको विद्यार्थीहरु आक्रोसित भएका छन् । उनीहरुले आयल निगमले गरेको मूल्यबृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अनुत्तरदायी सरकारका कारण मूल्य बढ्यो : प्रकाश शाही, अध्यक्ष अखिल क्रान्तिकारी
अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले राष्ट्रप्रति अनुत्तरदायी सरकार भएकाले पटक–पटकको मूल्यबृद्धि खेप्न बाध्य भएको बताएका छन् ।
शाहीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुनु स्वभाविक भएतापनि एउटा उत्तरदायी सरकारले आफ्ना जनताका लागि अनुदानमा समेत सहुलियत दिनुपर्ने बताए ।
उनले भने, अहिले त के देखिन्छ भने कमिशनका नाममा कर्मचारीतन्त्रले सिफारिस गर्ने र माथि सरकारका मान्छेहरुले चुनावका लागि खर्च जुटाउने धेयले यसो गरिएको छ ।
सरकारमा नेतृत्व गरिरहेकाहरु नै अब कति दिन आफू सरकारमा रहिन्छ भन्ने नै ठेगान नभएपछि यो बेलामा जसरी पनि पैसा असुल्न पर्छ भन्ने विकृति मानसिकताबाट यो आएको शाहीले बताए ।
लोकतान्त्रिक सरकारले जनताको ढाँड सेक्ने काम गरेको बताउँदै शाहीले भने, ‘आम जनताको जीवनलाई एकपछि अर्काे झन् कठिन बनाएको छ । हामी सबै नेपाली जनताले गम्भीर भएर सोच्ने बेला आएको छ । आफूलाई मूल धार र सरकारको नेतृत्व गरिरहेका राजनीतिक दलहरु जनताप्रति उत्तरदायी नहुँदा यस्तो समस्या आएको छ ।’
जसरी पनि सत्तामा टिकिरहन यो हर्कत भयो : समिक बडाल, महासचिव अनेरास्ववियू
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट अनेरास्ववियूका महासचिव समिक बडालले क्यापिटल दैनिकसँग कुराकानी गर्दै राज्यले गरिब तथा निमुखा जनताप्रति गम्भीर हुन नसक्दा अहिलेको अवस्था आएको बताए । उनले राज्य आफू कसरी हुन्छ सत्तामा टिकिरहने प्रचञ्चमा लागेको आरोप लगाए ।
‘आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा सधैं मूल्य बढाउने र घट्दा त्यसलाई समायोजन गर्न सकेको छैन,’ बडालले भने,‘राज्यले गरिब जनतालाई इन्धनमा दिने अनुदानलाई परिभाषित गर्नुपर्छ र यस बापत उनीहरुलाई रासन कार्डको व्यवस्थापन गर्नपर्छ ।’