काठमाडौं । रोजगारीका लागि इजरायल जान छनोट भएका युवाका लागी प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले अबको एक महिनाभित्र इजरायल पुुग्ने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
विभागले पहिलो चरणमा रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका युवाको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गरी चरणबद्ध रूपमा इजरायल पठाउने तयारी गरेको हो । एक÷दुई दिनभित्रै प्रहरी प्रतिवेदन लिन र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको नामसहित सूचना आह्वान गर्ने तयारी भएको विभागले जनाएको छ ।
इजरायल जाने श्रमिकका लागि विभागले क्रमशः प्रहरी प्रतिवेदन, पीसीआरसहितको स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र उडान तालिका तयार गर्नेछ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक श्रमिकको अन्तिम छनोटका लागि नेपालले इजरालयको दूतावासलाई उपलब्ध गराएको योग्यताक्रम सूचीका १६ सय उम्मेदवारमध्येबाट ११ सय ७५ जना रोजगारीका लागि योग्य भएका थिए ।
इजरायलले सार्वजनिक गरेको उम्मेदवारहरूको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन, अभिमुखीकरण, करार र श्रम स्वीकृतिका सम्बन्धमा विभागले केही दिनभित्र सूचना सार्वजनिक गर्ने भएको छ । मेडिकललगायत अन्य प्रक्रियामा समस्या आउन सक्ने भन्दै थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ।
यसमा ८२१ महिला र ३५४ पुरुष रहेका छन् । इजरायलले पठाएको नामावलीका आधारमा क्रमशः एक हजार १७५ जनालाई नै अभिमुखीकरण तालिम समयमा नै सम्पन्न गर्नेगरी तयारी गरिएको छ ।
विभागले इजरायलबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावासमा पठाउने गरी काम भइरहेको विभागले जनाएको छ । इजरायल जाने श्रमिकले मासिक झन्डै दुुई लाख रुपियाँ पारिश्रमिक पाउने जनाइएको छ ।
विभागका अनुसार एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइनेछ । छनोट भएका श्रमिकले हवाई भाडा, स्वास्थ्य बीमा, अभिमुखीकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा एक लाख ६५ हजार ७०० रुपियाँ शुल्क लाग्ने विभागले जनाएको छ ।