काठमाडौं । छठ पर्व सकिने बित्तिकै निर्वाचन आयोगले मतदाता नामावलीको व्यवस्थापन एवं अद्यावधिक गर्ने तयारी थालेको छ । अघिल्लो साता बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छठ सकिनासाथ मतदाता नामावली व्यवस्थापन गर्ने प्रस्ताव राखेका थिए ।
निर्वाचन आयोगले यसका लागि सरकारसँग ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमानित विवरणसमेत पेस गरेको थियो । तर, आयोगले वडा स्तरसम्म पुगेर मतदाता नामावली सङ्कलन गर्ने कार्यलाई छोट्याएर ७५३ वटा पालिकाहरूको केन्द्रसम्म मात्र पुग्ने कार्यसूची बनाएको छ ।
यसका लागि साढे ८ करोड रुपैयाँ लाग्ने आयोगको अनुमान छ । पालिका स्तरमा हुने अभियानका अतिरिक्त इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट हुने मतदाता संकलनसम्बन्धी जनशक्ति व्यवस्थापन गर्न थप अढाई करोड रुपैयाँ खर्च हुने आयोगले अनुमान गरेको छ ।
दुवै कार्यका लागि तत्काल ११ करोड रुपैयाँ निकासा गरिनुपर्ने प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको छ ।
अर्थ मन्त्रालयले बजेट निकासा गर्नासाथ अभियान सुरु हुने प्रवक्ता शालिग्राम पौडेलले बताए । बजेट आउनासाथ ७५३ ठाउँमा पठाउने जनशक्तिका लागि अभिमुखीकरण तालिम सुरु गर्ने उनले बताए ।
मतदाता सङ्कलन अभियान पहाड र हिमाली क्षेत्रका पालिकाहरूको हकमा १० दिनसम्म चल्नेछ । त्यस्तै, तराई र सहरका पालिकाहरूको हकमा १५ दिनसम्म अस्थायी स्टेसन कायम गरेर मतदाता नामावली सङ्कलन गर्ने आयोगको तयारी छ ।
गृह जिल्ला जानु नपर्ने
यसपटक निर्वाचन आयोगले मतदाता नामावलीका सन्दर्भमा केही नयाँ प्रावधान अगाडि सार्ने भएको छ । मतदातालाई विगतमा जस्तो नामावलीमा नाम टिपाउन झन्झट नहुने गरी व्यवस्थापन गर्न लागिएको आयोगको भनाइ छ ।
आयोगका अनुसार मतदाता नामावली सङ्कलन अभियानमा छुटेका मतदाताहरूले चुनावको मिति घोषणा हुनुअघिसम्म आफ्नो पायक पर्ने जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता नामावली अद्यावधिक गर्न सक्नेछन् । यसबाहेक ७७ वटै जिल्ला प्रशासन कार्यालय र देशभरका ६४ वटा इलाका प्रशासन कार्यालयबाट पनि मतदाता नामावली अद्यावधिक गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
सरकारले निर्वाचनको मिति घोषणा नगरुञ्जेलसम्म यी सरकारी अड्डाहरूमा जहिलेसुकै मतदाताहरूले नाम दर्ता गर्न पाउनेछन् । छठपछि नै आयोगले मतदाता नामावली सङ्कलन अभियान चलाउने जनाएको छ ।
यसक्रममा देशभरिका ७५३ वटै स्थानीय तहको केन्द्रमा निर्वाचन कार्यालयका कर्मचारीहरुलाई खटाएर मतदाता नामावली अद्यावधिक गर्ने कार्यसूची आयोगले बनाएको हो । मतदाताले आफ्नो पालिकाको केन्द्रमा खटिएका कर्मचारीसम्म पुगेर मतदाता नामावली अद्यावधिक गर्नुपर्ने छ ।
आयोगका अनुसार मतदाताहरू अस्थायी रूपमा जुन जिल्लामा बसोबास गरिरहेका छन्, त्यहीँको स्थानीय तहमा गएर मतदाता नामावलीमा नाम टिपाउन सक्नेछन् । काठमाडौँमा बसोबास गर्ने बाहिरी जिल्लाको मतदाताले यहीँको स्थानीय तह वा निर्वाचन कार्यालयमा गएर नाम टिपाउन सक्नेछन् ।
यसरी टिपिएको बाहिरी जिल्लाको नामावली सोही स्थानीय तहमा पठाइने र मतदान गर्नेबेला आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा जानुपर्ने आयोगका अधिकारीको भनाइ छ ।