काठमाडौं । आइतबार सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । केहिको घटनास्थलमै र केहिको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ । आइतबार सल्यान खलंगाबाट दाङ तुलसीपुर जाँदै गरेको २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा दुर्घटना भएको थियो ।
सनाखत हुनेमा दाङ शान्तिनगर गाउँपालिका–६ कोरवाङका ५ वर्षीय सुरज ओली, दाङ घोराही उपमहानगरपालिका–१० की ३६ वर्षीया रुपा केसी, सल्यान त्रिवेणी गाँउपालिका–४ की ९ वर्षीया सरिता बोहरा रहेका छन् ।
यस्तै सल्यान शारदा नगरपालिका–१२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका–२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका–३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुलि रेउले छन् ।
यसैगरी दुर्घटनामा दाङ बबई गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी–६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक ओली र दाङ शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताउनु भयो ।
तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको प्रहरीको भनाइ छ । बसचालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरी प्रमुख थापाको भनाइ छ ।
सल्यानको जयत पानीबाट, दुलधारा, खलंगा हुँदै दाङको तुल्सीपुरतर्फ जाँदै गरेको बस धेरै गति र जीर्ण सडकका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो ।