काठमाडौं । प्रदेश १ का विभिन्न स्थानमा शनिबार भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका प्रदेशका तीन जिल्लामा भएको सवारी दुर्घटनामा ७ को मृत्यु र ७ जना घाइते भएका हुन् ।
प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार मोरङ, झापा र उदयपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । मोरङको केराबारी गाँउपालिकास्थित बेलौरीमा को४०प १७२७ नम्बरको मोटरसाइकल र बा१०च ४३०० नम्बरको स्कोरपियो जुध्दा तीन जनाको मृत्यु भएको उनले बताए ।
तीन जना सवार मोटरसाइकल चालक लेटाङ नगरपालिका २ का ३० वर्षीय कमल कार्की र पछाडि सवार पथरी शनिश्चरे नगरपालिकाका ५५ वर्षीय तिलकबहादुर सुवेदीको घटनास्थलमा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार ४५ वर्षीया सीता कार्कीको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बेलुका मृत्यु भएको प्रवक्ता राईले जानकारी दिए ।
प्रहरीले स्कोरपियो र त्यसका चालक लेटाङ नगरपालिका २ का ४७ वर्षीय पुष्पबहादुर मगरलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङ रंगेली नगरपालिका– ६ टकुवा–पीपल चौक भित्री सडकखण्डमा साइकलमा सवार सुनवर्षी नगरपालिका– ६ पटियापाडाका ३० वर्षीय शत्रुघन साहको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बेलुका साइकलबाट लडेर घाइते भएका साहको रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो । उदयपुरको त्रियुगा नगरपालिकामा स१ह १६२० नम्बरको अटो र को१९प ९६४६ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनामा अन्य २ जना घाइते भएका छन् । सो घटनामा परी गम्भीर घाइते भएका त्रियुगा नगरपालिका– ११ का ८५ वर्षीय कुलप्रसाद भण्डारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा राती मृत्यु भएको हो ।
घटनामा घाइते मोटरसाइकल चालक सप्तरी कञ्चनपुर नगरपालिका– १२ का ५२ वर्षीय कमलप्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका– ७ का ४२ वर्षीय नरबहादुर कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी झापाको बिर्तामोड नगरपालिका– ६ गिरीबन्दु टि–स्टेट नजिक मोटरसाइकल र प्र१–०१–०१४प ६००७ नम्बरको स्कुटी ठक्कर खाँदा स्कुटी चालक मेची नगरपालिका– १० का ४२ वर्षीय डिल्ली कार्की, पछाडि सवार उनका छोरा १६ वर्षीय मनिष कार्की र अर्को मोटरसाइकल पछाडि सवार झापा हल्दिबारी गाउँपालिका– २ का २१ वर्षीय पिजेश लामा घाइते भएका थिए ।
घाइतेहरुको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । प्रहरीका अनुसार स्कुटीको पछाडि सवार व्यक्तिको उपचारका क्रममा राती मृत्यु भएको छ ।
दुर्घटनामा परेको रातो रंगको २२० सीसीको मोटरसाइकलको नम्बर खुल्न नसकेको छैन। प्रहरीले अर्को मोटरसाइकलका चालक झापा हल्दिबारी गाउँपालिका– २ का २५ वर्षीय उमेश लामा फरार भएको जनाएको छ ।
झापाकै मेचीनगर नगरपालिका तेलिबारीमा प्रदेश–१–०४–०१४प ३३४५ नम्बरको मोटरसाइकल र प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल एकापसमा जुधेर दुर्घटना भएको थियो । राती भएको दुर्घटनामा ४ जना घाइते भएका थिए ।
घाइते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका– ८ का २१ वर्षीय अनिष गिरी र पछाडि सवार १८ वर्षीय अभिषेक श्रेष्ठ तथा ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ वर्षीय निकेश शिवाकोटी र पछाडि सवार झापा मेचीनगर नगरपालिका– ८ का २१ वर्षीय प्रवीण मेचे रहेको प्रवक्ता राईले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये अभिषेक श्रेष्ठको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको थियो । घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमै उपचार भइरहेको छ ।