काठमाडौं । काठमाडौंको व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरुको चहल पहल बढेको छ।
भाइ टिकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन् । दाजुभाईलाई सप्तरंगी टिका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठा मिठा परिकार दिने प्रचलन रहेको छ । भाइ मसलामा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खना, छोकडा, सुपारी, मरिच लगायत राख्ने गरिन्छ । यी मसलाहरु किनमेल गर्न सुरु भइसकेका छन् ।
भाइ मसला केवल मसला व्यापारीले मात्रै होइन, किराना पसले हरूले पनि विक्री गरिरहेका छन् । त्यसो त तिहार केन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरुबाट पनि धमाधम भाइ मसला विक्री भइरहेको छ । काठमाडौंको न्यूरोड, असन लगायतका सडक पेटीहरुमा भाइ मसला किन्नेको भीड लागेको देख्न सकिन्छ ।
सडक पेटीहरूमा सानादेखि, ठुलासम्मका प्याकेट बनाएर बेचविखन भइरहेको पनि देख्न सकिन्छ । हरेक सामान किन्न हरेक पसल पुग्नुपर्ने झन्झटबाट मुक्त हुन उपभोक्ताहरु सबै सामग्री मिसिएको रेडिमेट प्याकेटमै आकर्षित भएका छन् ।