काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ । उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोलीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको सडक निर्माण अवस्थाको बारेमा जानकारी लिएको हो ।
संसदीय टोलीले स्थलगत निरीक्षणका साथै आयोजनाका अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल र निर्माण व्यवसायी तथा प्राविधिकलाई निर्देशन दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । अनुगमनपछि राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २५ किलोमिटर दूरीको चराङ–छोसेर खण्डको सडक निर्माणमा भएको ढिलाइका बारेमा ध्यानाकर्षण भएको र सम्बन्धित निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिएको बताए ।
टोलीले कोरला नाकादेखि १३ किलोमिटर नेपालतर्फ छोसेरमा रहेको सिमा सुरक्षा पोष्टलाई नाकाको नजिकै स्थानान्तरण गर्न सरकार, गृह, परराष्ट्र मन्त्रालयमा प्रस्ताव गर्ने बताए । बिहीबार जोमसोम हुँदै कोरला नाकासम्म पुगेर फर्किएको टोलीले शुक्रबार जोमसोमदेखि लेतेसम्म निर्माणाधीन सडक अवलोकन गरेको थियो ।
आयोजना प्रमुख प्रजापतिले जोमसोम–कोरला खण्डको सातमध्ये छवटा प्याकेज निर्माण सकिएको, जोमसोम–कागबेनी सडक कालोपत्रे हुन लागेको, बेनी–जोमसोम सडकको तेस्रो प्याकेज कैकुखोला–खन्ती खण्ड कालोपत्रे अन्तिम चरणमा रहेको र तीन वटा प्याकेजको काम भइरहेको जानकारी गराएका थिए । उपसमिति सभापति देवकोटाले राष्ट्रिय सरोकार तथा समन्वय समितिअन्तर्गत राष्ट्रिय गौरवको आयोजनाको अनुगमन गर्ने सिलसिलामा मुस्ताङ आएको बताए ।
यसैगरी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोग्रस्त क्षेत्रमा डाइभर्सन (वैकल्पिक) सडक बनाउन लागिएको छ । कालीगण्डकीले कटान गरेर यसअघि बनाइएको सडक भााँसिएर साँघुरिदा सवारी साधन आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेकाले करिब २०० मिटर नयाँ ट्रयाक खोलेर डाइभर्सन बनाउन लागिएको हो ।
ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको दुईवटा स्काभेटरसहितका उपकरण परिचालन भएको हो । नयाँ सडक निर्माण भएपछि साँघुरो र उकालो सडकमा गाडी फसेर यात्रु घण्टौँ जाम बस्नुपर्ने समस्या हट्ने बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।