काठमाडौं । गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
सालिमार हस्पिटालिटी एण्ड फुड प्रा. लि. का नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा विक्री हुँदै आएको छ । आज काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यबस्तुमा आफ्नो लेवल र आफूले उत्पादन गरेका खाद्यबस्तुमा भारतीय कम्पनीको लेवल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय विक्री गरेको पाइएको थियो ।
यस अघि अनुगमन टोलीले नयाँ सडकमा रहेको पसलको पनि निरीक्षण गरेको थियो । त्यस क्रममा उत्पादन मिति उल्लेख नभएका चिउराका बोराहरु फेला पारेको थियो । अनुचित व्यापारिक क्रियाकलाप भएकोले जरिवाना तिराउनु परेको हो । निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिँदै भने, ‘यसअघि दिइएका निर्देशनको पालना गर्ने वा त्यसका लागि तत्परता नदेखिएपछि जरिवाना तिराएका हौँ ।’
यस अघि ०७६ कार्तिक ८ गते महानगरले यही ठाउँमा गएर गलत भएका ठाउँहरु देखाउँदै सुधार गर्न भनेको थियो । त्यसबेला तिहारका लागि मिठाइ प्याकिङ् गरेर दिइने बक्सहरु भुँइमा राखेर पट्याउने काम भइरहेको थियो । यसरी बक्स बनाउन खटिएका कर्मचारीहरु भुँइमा पलेँटी कसेर बसेका थिए । उनीहरुका अगाडि बक्स र कागजको थुप्रो थियो । उनीहरुले जुत्ता लगाएका थिए तर हातमा पञ्जा, शरीरमा एप्रोन तथा टाउको छोप्ने कुनै सामान प्रयोग गरेका थिएनन् । गुलाबको पहिलो तलामा मिठाइ बनाउने काम गरिरहेका कामदारहरु खाली हातले लड्डु बनाइरहेका थिए । छेउमा ठूला ठूला भाँडामा लालमोहन र रसबरी राखिएको थियो । तेश्रो तला राखिएका सामानहरु हेर्दा दुगड कम्पनीबाट उत्पादन भएका १ किलोग्रामका १० वटा म्याद गुज्रेका बेसनका प्योृयाकेट भेटिएका थिए । अर्को तलामा भण्डारको छेउ अँध्यारो कुनामा आधा बोरामा कीरा परेको २६ किलो बेसन थियो । यसरी भेटिएका सामान नष्ट गर्दै अनुगमन टोलीले सुधार गर्नु भनेको थियो ।
गुलाबमा भेटिएका सामाग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पुर्याउन सक्ने खालका हुन् । अनुगमनमा रहनुभएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा भन्छन्, ‘जुन मिठाई पसलमा गयो त्यहीँ समस्या छ ।’
यस्ता कारबाहीलाई सांकेतिक मान्नुपर्छ । समय दिँदा पनि सुधार नगर्नेलाई हदैसम्मको कानुनी दायरामा नल्याई उपभोक्ताहरु ठगिने क्रम रोकिँदैन । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन्, ‘मिठाइ पसलको भान्छा सरसफाइ गर्न गएजस्तो भएको छ । एक दुईवाहेक अरुको मिठाई उत्पादनको चक्रमा कतै न कतै समस्या भेटिइहाल्छ । अहिले मापदण्ड कार्यान्वयनका लागि व्यवसायी र नियमनका लागि सरकारको तत्परता चाहिएको छ ।’