भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सत्तालाई काँग्रेस सभापति शेरबहादुर देउवाको पाउमा लगेर चढाउनेहरुसँग आगामी चुनावमा हिसाब–किताब हुने बताएका छन् ।
नेकपा एमाले सूर्यविनायक नगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको अभियानबाट आएको जनलहर र ओलीको उचाई देखेर आत्तिएकाले एमाले फुटाउने योजना बनाएको बताए ।
केपी ओलीप्रति युवाहरुको आकर्षण बढेको देखेर प्रचण्ड–माधव नेपालाई टाउको दुखेको बताउँदै बस्नेतले भने, ‘देशका युवाहरुले एमाले अध्यक्ष ओलीलाई रोजे, ‘केपी बा आइ लभ यू’ भने, आजका लागि होइन भोलिका लागि भन्दै नारा लगाए, युवाको लहर ओलीको पछि देखेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र शेरबहादुर देउवालाई टाउँको दुख्यो ।’
मुलुक अस्थिर राजनीतिको शिकार बन्न थालेको बताउँदै बस्नेतले स्थिरताको निम्ति पनि निर्वाचनमा जानुको विकल्प नभएको बताए । उनले भने, ‘कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि अर्लि इलेक्सनकै पक्षमा पुगेका छन्, उनले निर्वाचन आयोगलाई पनि स्थानीय तहको निर्वाचन चैत ५ गते गर्ने र सम्भव भए सबै निर्वाचन एकै पटक गर्ने गरि छलफल गर्न थालेका छन्, अर्लि इलेक्सनले मात्रै अहिलेको राजनीतिक समस्याको समाधान दिन्छ, त्यसैले अब जतिसक्दो छिटो चुनावमा जानुपर्छ ।’
सरकारको १०० दिनमा भक्तपुरको एउटा अधिवेशन र एमालेको सरकारले बनाएको ललितपुरको कुम्भेश्वरको मन्दिर उद्घाटन गर्नेबाहेक अरु केही गर्न नसकेको उनको टिप्पणी थियो । परमादेश जारी गर्दै ओली नेतृत्व सरकार बिस्थापित गर्ने प्रधान न्यायाधिस चोलेन्द्र शमसेर राणाको कदम गलत छ भनेर एमालेले भन्दा नपत्याउनेहरु अहिले त्यहीँ ठाउँमा आएको बस्नेतले बताए ।
कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य शशीजंग थापाले माओवादी केन्द्रसँग पार्टी एकीकरण हुँदा सबभन्दा ठूलो क्षति एमालेलाई भएको भन्दै पार्टी फुटको क्षतिपूर्ति गर्ने गरी अबको नेतृत्व सक्रिय हुनु पर्नेमा बताए ।
यस्तै, नेकपा एमाले जिल्ला संगठन कमिटी अध्यक्ष बचन देउजा, एमाले वाग्मती प्रदेश सदस्यहरु राजेन्द्र राजथला, निर्मल भट्टराई, रजन केसी, टिपि उप्रेती, एमाले जिल्ला सचिव एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, जिल्ला समन्वय समिति उपप्रमुख सरिता कुँवर सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत, नेकपा एमाले सूर्यविनायक नगर कमिटी अध्यक्ष रविन्द्र सापकोटा लगायतले पार्टीलाई एक ढिक्का बनाएर अबको निर्वाचन एक मात्र लक्ष्य लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।