काठमाडौं । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीमा रहेको १ सय ३२ केभी सबस्टेशन सञ्चालनमा आएको छ । डुबानका कारण गएको मङ्गलवार राति साढे ८ बजेदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर बिहीबारदेखि सञ्चालनमा आएको हो ।
दुहबी सबस्टेशनबाट निकालिएको लाइन चार्ज गरेर त्यस क्षेत्रमा अहिले विद्युत् आपूर्ति पनि सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए । प्रदेश–१ का जिल्लाहरुमा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत् आपूर्ति बन्द भएको थियो ।
सबस्टेशन सञ्चालनमा आएसँगै अहिले धेरै ठाउँको विद्युत् आपूर्ति सुरु भइसकेको छ । उपकरणमा ठूलो क्षति नभएकाले सुरक्षात्मक उपाय अपनाएर सबस्टेशन चार्ज गर्न सफल भएको उनले बताए । यस्तै रुख ढलेका कारण बन्द भएको कैलालीमा रहेको अत्तरिया चमेलिया १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ ।
यो प्रसारण लाइन सञ्चालनमा आएपछि धेरैजसो सुदूरपश्चिमका पहाडी क्षेत्रमा बन्द भएको विद्युत् आपूर्ति सुरु भएको छ । देशभर बन्द भएका झण्डै दुई सय मेगावाट विद्युत् प्रसारणमा विच्छेद भएकामा धेरैजसो सञ्चालनमा आइसकेका प्राधिकरणका प्रवक्ता भट्टराईले बताए । अब केही ठाउँहरुमा मात्र विद्युत् विच्छेद भएको उनले बताए ।
विद्युत् विच्छेद भएका ठाउँमध्ये कतिपयमा मर्मतको काम भइरहेको र कतिपय ठाउँमा भने कठिनाइ भएको उनको भनाइ छ । भौगोलिक कठिनाइ, बाटोको समस्या लगायतका कारणले सबै ठाउँमा छिटो विद्युत् सेवा आपूर्ति गर्न नसकिएको भट्टराईले जानकारी दिए ।