काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर तेस्रो साता काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।
प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जानकारी दिएको हो ।
भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा प्राप्त भएका अनुभव तथा सिकाइहरुले विपदबाट सुरक्षित नेपाल बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार तयार भएको भन्दै यसको अनुभव बाँड्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको यसै अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराए । अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ राखिएको छ ।
सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु समेत गर्ने प्राधिकरणको भनाइ छ ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको दुई महिनापछि २०७२ साल असार १० गते काठमाडौंमा नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो ।