अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसिले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि शक्तिको दुरुपयोग अभियोगमा लगाउने बाटो खुलेको बताएकी छन् । तल्लो सदनमा चाँडै नै राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुने उनले बताएकी छन् ।
प्रजातन्त्रको रक्षाका लागि महाअभियोग लगाउनु बाहेक अर्को विकल्प नरहेको र यसका लागि राष्ट्रपति ट्रम्पले नै आफूहरुलाई बाध्य पारेको उनले उल्लेख गरेकी छन् ।
राष्ट्रपति ट्रम्पले भने डेमोक्र्याटहरु पागल भएको बताएका छन् । उनले आफूमाथि महाअभियोग लगाउने भए तीव्र गतिमा प्रक्रिया सुरु गर्न पनि सुझाव दिएका छन् ।
स्थानीय समय अनुसार बिहीबार बिहान सभामुख पेलोसीले पत्रकार सम्मेलनमा अहिलेसम्म जुटेका प्रमाणहरु अकाट्य रहेको बताएकी हुन् ।
उनले भनेकी छन्, ‘राष्ट्रपतिले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि शक्तिको दुरुपयोग गर्नु भएको छ । जसका लागि हाम्रो राष्ट्रिय सुरक्षा दाउमा राखियो । सैन्य सहयोग रोकेर आफ्ना राजनीतिक प्रतिस्पर्धीमाथि भ्रष्टाचार अभियोगमा छानबिन सुरु गरेको घोषणा गर्न दबाब दिइयो, यो गैरकानूनी हो ।’
पेलोसीले अनुसन्धान गरिरहेका संसदीय समितिका सभापतिलाई महाअभियोग सम्बन्धी प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन् । अमेरिकाको रक्षा र यसका संस्थापकहरुको सम्मानका लागि निकै दुःखी भएर यो प्रक्रिया सुरु गर्न आग्रह गर्नु परेको उनले उल्लेख गरेकी छन् ।
महाअभियोग प्रस्तावमा तल्लो सदनमा यो वर्षको अन्तिममा मतदान हुन सक्ने छ । यस्तै सिनेटमा सन् २०२० को जनवरीमा मतदान हुने सम्भावना छ ।
राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ। त्यसकै लागि अनुसन्धान भइरहेको हो ।
राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।
जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ।
यसअघि महाभियोग लगाउने सम्बन्धी अनुसन्धानको क्रममा बुधबार भएको सुनुवाईमा उपस्थित भएका तीनजना अमेरिकी संवैधानिक कानूनका ज्ञाताहरुले राष्ट्रपति ट्रम्पको कार्य महाअभियोग लगाएर पद मुक्त गर्नु पर्ने खालको रहेको बताएका थिए
विदेशी शक्तिसँग आफ्नो व्यक्तिगत स्वार्थका लागि सहयोग माग्नु अपराध रहेका र उनले न्याय व्यवस्थामा अवरोध सिर्जना गरेको आरोप ती विज्ञले ट्रम्पमाथि लगाएका हुन् ।
संसदीय सुनुवाईका लागि डेमोक्र्याटिक पार्टीले तीन तथा रिपब्लिकनले एकजना विज्ञलाई बोलाएका थिए । डेमोक्र्याटिक पार्टीले बोलाएका तीनैजना विज्ञले ट्रम्पको कार्य अवैध रहेको र महाअभियोग लगाउनु पर्नेमा कुनै शंका नै नरहेको बताए । रिपब्लिकन पार्टीका तर्फबाट बोलाइएका विज्ञले राष्ट्रपति ट्रम्पको कार्य गलत रहेको तर महाअभियोग लगाउनु पर्ने खालको भने नरहेको बताए ।
त्यसअघि मंगलबार पदमा रहेर गैरकानूनी काम गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउनका लागि पर्याप्त प्रमाण रहेको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको नेतृत्व गरिरहेको प्यानलले बताएको थियो
महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनका समितिले तयार पारेको ३०० पृष्ठ लामो प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको थियो । सो प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय स्वार्थ भन्दा माथि आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थलाई स्थान दिएको उल्लेख छ ।