नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठक भर्खरै सकिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा उपनिर्वाचनको मतपरिणामबारे सामान्य समीक्षा भएको थियो । बैठकमा उपनिर्वाचनमा घात प्रतिघात नभएको निष्कर्ष निकालेको भए पनि विस्तृत रुपमा अर्को बैठकमा छलफल हुने उनले जानकारी दिए ।आजको बैठकले ३७ वटा जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको छ ।
‘दाङको घोराही-१६ मा हाम्रै बागी उम्मेदवारका कारण हारिएको हो। अरू ठाउँमा पार्टी्भित्र अन्तरघात भएको कुरा आएको छैन, ’ श्रेष्ठले भने,‘आफ्नो क्षेत्रमा के भएको हो भन्नेबारे समीक्षा पठाउन सम्बन्धित कमिटीलाई भनेका छौं ।’
गत शनिबार भएको उपनिर्वाचनमा नेकपाले भक्तपुरमा प्रदेश सभा सदस्य र धरान उपमहानगरमा मेयर गुमाएको थियो । दुई वर्षअघि नेकपा (तत्कालीन एमाले/माओवादी केन्द्र) ले जितेका ६ वडामा पनि यसपालि नेपाली कांग्रेसले जितेको छ ।
६ दशकदेखि कम्युनिष्टको गढ रहेको धरानमा पराजित भएपछि नेकपाभित्र हारको कारणबारे बहस जारी छ । उनका अनुसार अर्को बैठक मंसिर २३ गते बस्नेछ ।
‘उक्त बैठकमा स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने विषयमा छलफल हुन्छ,’ श्रेष्ठले भने ।
आगामी बैठकले नै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारेमा निर्णय लिनेछ । आजको सचिवालय बैठकमा ६ जना सदस्य उपस्थित थिए ।