हालै सम्पन्न उपनिर्वाचनमा अत्यन्तै निराशाजनक परिणाम हात लागेपछि वैकल्पिक राजनीति गर्ने भन्दै मैदानमा आएको साझा पार्टीले साझा भुईयात्रा थाल्ने जनाएको छ ।
सोही अभियानमार्फत् पार्टीलाई जनतासँग जोड्ने र नेतृत्वकर्ता खोज्ने पनि जनाएको छ । पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सोमबार विज्ञप्ति निकाल्दै उपनिर्वाचनको नतिजालाई आफ्ना कमी–कमजोरी समीक्षा गर्नु पर्ने सन्देश दिएको पनि जनाएका छन् ।
साझाले भनेको छ, ‘पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता–शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ । विधिको शासन भत्काइएको छ । जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ । गाउँ–टोलमा ठुला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ ।’
यस्तो छ, साझाले निकालेको विज्ञप्तिः–
उपनिर्वाचनमा विजयी सबै उम्मेदवारहरू प्रति साझा पार्टी हार्दिक बधाई तथा जन प्रतिनिधिको रूपमा जनताका आकाङ्क्षा सम्बोधन गर्नमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छ ।
साझा पार्टीले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी–कमजोरीको समीक्षा गर्नु पर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको छ । हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नु पर्ने हुन्छ । नेपाल रूपान्तरणको राजनीतिक यात्रामा हामी रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्ग्चित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।
राजनीतिक पार्टीको जनतासँगको प्रत्यक्ष सम्बन्धका लागि तल्लो तहसम्मको पार्टी सङ्गठनको महत्वपूर्ण भूमिका हुन्छ । तर साझा पार्टीको सङ्गठन सञ्जाल बन्ने क्रममा नै छ । यसको अभावमा साझा पार्टी के हो, के होइन, यसले के गर्छ, के गर्दैन भन्ने जस्ता पार्टीबारेका आधारभूत जानकारी जनता माझ राम्रोसंग सम्प्रेषण हुन सकेको छैन ।
पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता(शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ । विधिको शासन भत्काइएको छ । जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ । गाउँ–टोलमा ठुला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ ।
सारा प्रतिकूलताका बाबजुद हामीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टी हार्दिक आभार प्रकट गर्दछ । त्यस्तै, ‘मत’ नबदले पनि ‘मन’ बदलेर हामीप्रति आशा र भरोसा राख्ने ठुलो जमातले हाम्रो गतिविधिलाई नजिकबाट नियालिरहेको हामीले महसुस गरेका छौँ । आफ्ना गल्ती–कमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्न हामी कटिबद्ध छौँ ।
त्यसका लागि हामी छिटै ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लागि पर्ने छौँ । साझा पार्टीका विचार, नीति र एजेन्डा जनता समक्ष प्रस्तुत र छलफल गर्नेछौँ। जनताका आकांक्षा र हामीप्रतिको अपेक्षाका बारेमा सुन्ने छौँ । साझा पार्टी नेतृत्वकर्ताहरूको खोजी गर्नुका साथै सङ्गठन विस्तार गर्नेछौँ ।
नेपाली जनताको विकास, संवृद्धि र सुशासनप्रतिको उत्कट चाहनाको जगमा हामी अझ सशक्त मेहनतका साथ अविराम अघि बढ्ने प्रण गर्दै मुलुक रूपान्तरणको यो अभियानमा सक्रिय सरिक हुन, सहयोग, सद्भाव र शुभेच्छासँगै खबरदारी गर्न पनि हामी सर्वैमा हार्दिक आग्रह गर्दछौ ।