साताको पहिलो दिन शेयर बजार १७.११ अंकले घटेको छ । बुधबार मौद्रिक नीति आएदेखि ओरालो लाग्न थालेको नेपाल स्टक एक्चेन्ज (नेप्से) आइतबार सम्म पनि कायम रहेको छ ।
बुधबार मौद्रिक नीति सार्वजनिक हुनुपुर्व नेप्से १२४८ अंकमा थियो । साताको अन्तिम दिन १४ अंकले ओरालो लागेर १२६९.९२ अंकमा पुगेको बजार आइतबार पनि ओरालो लाग्दै १२५२.८० अंकमा पुगेर रोकिएको छ ।
यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सुचक पनि ३.४३ अंकले ओरालो लागेर २ सय ७० अंकमा पुगेको छ ।
दोहोरो अंकले शेयर बजारमा गिरावट आउदा म्युचुअल फण्ड बाहेक अन्य सबै उपसूचक पनि घटेका छन् । आइतबार सबैभन्दा बढी जीवन बीमाको शेयर १०६.८९ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमाको पनि ९९.६७ अंकले घटेको छ । आज उत्पादन उपसमूह २४.७२, बैंकिङ १५.९२, विकास बैंक १५.४९, तथा जलविद्युत ११.८५ अंकले गिरावट आयो ।
बिहिबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । नेप्से घटेपनि कारोबार रकम बढेर बिहिबार ५५ करोड ५ लाख पुगेकोमा आइतबार ४९ करोड २६ लाखको कारोबार भयो । आज १सय ६६ कम्पनीको १९ लाख ३७ हजार कित्ता शेयर किनबेच भयो ।
आज सबैभन्दा बढी कृषि विकास बैंकको कारोबार भयो । दिनभरिमा कृषि विकास बैंकको ४ करोड ८ लाख रुपैयाँको कारोबार भयो, त्यसपछि दोस्रोमा भने नेपाल बैंक लिमिटेडको ४ करोड १ लाखको कारोबार भयो ।
आज सबैभन्दा बढी सृजना फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाए भने सबैभन्दा बढी गुमाउनेमा युनियन जलविद्युत लिमिटेडका लगानीकर्ता छन् ।