तनहुँका १५ प्रतिशत घरघुरीमा अझै बिजुलीको सुविधा पुगेको छैन । आर्थिक वर्ष २०७५-७६ सम्म जिल्लाका ८५ प्रतिशत घरधुरीले बिजुलीको सुविधा उपभोग गर्न पाए पनि अझै १५ प्रतिशत घरधुरीमा विद्युतीकरण हुन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए । जिल्लाको विशेषगरी देवघाट, रिसिङ, बन्दीपुर, आबुँखैरेनी, घिरिङ गाउँपालिका तथा व्यास नगरपालिकाका १२ हजार घरधुरीमा बिजुली सुविधा नपुगेको उनले जानकारी दिए । विद्युतीकरण नभएका क्षेत्रमा अबको डेढ वर्षभित्र बिजुली विस्तार भइसक्ने उनको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०७५-७६ मा जिल्लाका विभिन्न ठाउँका एक हजार घरधुरीमा बिजुली विस्तार गरेको छ । आँबुखैरेनी–६ को ज्यामिरे, छापास्वारा, कुलमान, ढेडगाउँलगायतका क्षेत्रमा बन्दीपुरको ग्याजाटार, सराङघाट, रिसिङ–३ को नाजुङ, सोलुङ, दुभुङ, खाल्टुभञ्याङ र रिसिङ–२ को गुम्लेक र व्यास नगरपालिकाको सुँडे क्षेत्रका एक हजार घरधुरीमा बिजुली विस्तार गरेको केन्द्र प्रमुख गोशलीले जानकारी दिए ।
यस अवधिमा ७६.७ किलोमिटर विद्युत् प्रसारणलाइन विस्तार भएको छ । ११ केभीको ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमी लाइन विस्तार गरिएको छ । गोशलीका अनुसार बिजुली विस्तारका लागि ३ करोड बजेट खर्च भएको छ ।
सोही आर्थिक वर्षमा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरिएको छ । म्याग्देको मुलावारी, ओटाङ्दी, व्यासको सुँढे, बागभञ्ज्याङ, सितलगुफा, रिसिङको नाजुङ, दुभुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, बन्दीपुरको तीनधारा जुनडाँडा, साराङघाट, ग्याजाटार, भानुको खहरे, भन्सार, आँबुखैरेनीको छापस्वाँरा र मिलनचोकमा ट्रान्सफर्मर थप गरेको हो ।
वितरण केन्द्रमा अघिल्लो आर्थिक वर्ष २०७४-७५ मा ३४ हजार १ सय १६ जना ग्राहक रहेकोमा २०७५-७६ मा २ हजार १ सय ७ नयाँ ग्राहक थपिएर ३६ हजार २ सय २३ जना भएका छन् । साथै आर्थिक वर्ष २०७४-७५ मा १६.६७ प्रतिशत घाटा भएकोमा २०७५-७६ मा घटेर ८.४७ प्रतिशतमा पुगेको छ । नयाँ ट्रान्सफरमर थप्ने, ट्रान्सफरमरको क्षमता बढाउने, तार थप्ने, तार अपग्रेड गर्ने तथा नयाँ लाइन विस्तार गर्ने, पुरानो नाङ्गो तारलाई नयाँ कालो तारले फेर्ने कार्यले गर्दा विद्युत् चुहावट घटाउन सफल गोशलीको भनाइ छ ।
९ सय ३१ ग्राहकको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०७५-७६ मा विभिन्न ठाउँका समयमा विद्युत् बक्यौता नबुझाउने ९ सय ३१ ग्राहकको लाइन काटेको छ । विद्युत् महसुल संकलन विनियमावली २०७३ को विनियम १० अनुसार मिटर रिडिङ गरेको ६० दिनसम्म महशुल नबुझाए विना सूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न पाउने व्यवस्था छ । सोही अधिकार प्रयोग गरी समयमा बक्यौता नबुझाउने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । लाइन काटिनेमा घरायसी ग्राहक र व्यापारी बढी छन् । दमौली, थर्पु, डुम्रे, भानु, बन्दीपुरलगायतका क्षेत्रमा लाइन काटिएको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले ग्राहकको लाइन काटेपछि १ करोड १८ लाख ४३ हजार ७ सय १६ रूपैयाँ बाँकी बक्यौता असुल गर्न सफल भएको गोशलीले जानकारी दिए । त्यस्तै ८ सय ३२ जना ग्राहकको लाइन पुनः जडान गरिएको छ ।
वितरण केन्द्रबाट सडक बत्तीसहित अझै २ करोड ५७ लाख बक्यौता उठ्न बाँकी रहेको छ । घरायसी तथा व्यापारिक र साना उद्योगबाट रकम उठ्न बाँकी रहेको गोशलीले जानकारी दिए । उनका अनुसार जिल्लाको डुम्रे, आबुँखैरेनी क्षेत्रमा बढी रकम बक्यौता छ ।
त्यस्तै वितरण केन्द्र तनहुँले १ सय २५ जना अनाधिकृत विद्युत् उपभोक्तालाई कारबाही गरेको छ । वितरण केन्द्रले उक्त कारवाहीबाट ६ लाख ६ हजार रूपैयाँ रकम असुल गरेको छ । मिटर बाइपास गर्ने, मिटरमा पुरा खपत हुन नदिने, मिटरमा अन्य बस्तु प्रयोग गर्ने, मिटरको शिल तोड्ने र बिगार्नेलाई वितरण केन्द्रले कारबाही गएको हो ।
प्राधिकरणले ३ सय ५० वटा बन्द र बिग्रेको मिटर फेरिएको छ भने करिब १ हजार १ सय ४९ वटा ग्राहकको मिटर रिसिलिङ तथा करिब १२ सय ग्राहकको मिटर छड्के निरीक्षण गरिएको वितरण केन्द्र तनहुँले जनाएको छ । जिल्लाका १५ सय १० वटा काठे पोल विस्थापन गरिएको छ ।