प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई जलमार्ग र क्रसबोर्डर रेलमार्गले जोड्नुपर्ने बताएका छन् । विभिन्न माध्यमबाट नेपाललाई अन्य मुलुकसँग जोडेपछि वैदेशिक व्यापार विस्तार सहज हुने उनले बताए । आइतबार आयोजित नेपाल–भारत पारवहन सहजीकरण सम्मेलनमा उनले देशको व्यापारघाटा दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि कनेक्टिभिटीमा जोड दिएका हु्न ।
प्रधानमन्त्री ओलीले नेपाल–भारत जोड्ने जलमार्गले दुईदेशीय व्यापार अझ विस्तार हुने र नेपालमा लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले भने, “वर्तमान अवस्थामा नेपाल–भारत बीचको दुईपक्षीय सम्बन्ध भनेको सडक सञ्जाल नै हो त्यसैले अब जलमार्ग, क्रसबोर्डर रेलमार्ग विस्तार गरेर दुई देशलाई जोड्ने काम अगाडि बढाइनुपर्छ र सरकारको प्राथमिकता पनि त्यसमै छ ।” प्रधानमन्त्रीले यसको सफलतापछि दुई पक्षीय व्यापार अझ विस्तार हुने विश्वास व्यक्त गरे ।
दुवै देशका उद्यमी व्यवसायी र लगानीकर्ताहरूको समेत ठूलो सहभागिता रहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले दुई देशबीचको व्यापारमा नेपालले ठूलो व्यापारघाटा व्यहोर्नु परेको तथ्यांक प्रस्तुत गर्दैै नेपालमा आएर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रहसमेत गरे । लगानीका लागि नीतिगत, कानुनीलगायत सम्पूर्ण सुधार गरिएको स्पष्ट पार्दै उनले व्यापारघाटा कम गर्न पनि नेपाललाई पर्याप्त लगानीको आवश्यकता रहेको उल्लेख गर्दै नेपाल आएर लगानी गर्न भारतीय लगानकर्ताहरूलाई आग्रह गरे ।
नीतिगत सुधार र नीतिगत स्थायित्व लगानी आकर्षणका लागि महत्वपूर्ण आधार भएको प्र्रधानमन्त्री ओलीको भनाइ थियो । राजनीतिक स्थायित्व समेत भएकाले नेपाल यतिखेर लगानीका लागि उपयुक्त समय भएको समेत उनले प्रष्ट पारे । उनले भने, “लगानीमैत्री वातावरण बनाउनका लागि सरकार नीतिगत परिमार्जन गर्दै अगाडि बढेको छ, यसकै लागि सरकारले एकलबिन्दु सेवासमेत सञ्चालनमा ल्याएको छ ।” काठमाडौं—वीरगञ्ज रेलमार्ग डीपीआरको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालतर्फ फड्को मार्ने क्रममा रहेकाले त्यसका लागि भारतसँगको व्यापारको भूमिका महत्वूर्ण हुने धारण राखे ।
महासंघका अध्यक्ष भवानी राणाले दुवै देशका सरकारी पदाधिकारीहरू, उद्यमी व्यवसायीहरू, व्यवसायिक घरानाहरू, लजिष्टि कम्पनीहरू समेतलाई एकै थलोमा ल्याई व्यापार तथा पारवहनका विषयमा रहेका समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी समाधानका लागि सहमति बनाउन र व्यापार सहजीकरणमा सहयोग गर्न सम्मेलन महत्वपूर्ण हुने विश्वास प्रकट पकट गरिन् ।
विश्व वैंकको तथ्यांकअनुसार नेपालले लजिष्टिक सुधार सूचकांकमा सुधार गर्दै गएको तथ्यांक प्रस्तुत गर्दै सन् २०१६ मा सूचकांक २.३८ रहेकोमा त्यसमा सुधार भइ २०१८ मा २.५१ पुगेको अध्यक्ष राणाले बताईन् । उनले, पारवहनका क्रममा नेपाली उद्यमी व्यवसायीहरूले उठाएका समस्याहरूलाई संवोधन गरी सहयोग गर्न भारतीय सरकारका महत्वपूर्ण पदाधिकारीहरू प्रतिवद्ध रहेको आफूले पाएको राणाको भनाइ थियो ।
कार्यक्रममा भारतीय सरकारका उद्योग तथा वाणिज्य मन्त्रालयका लजिष्टिक सचिव एन. सिभासैलामले नेपाल–भारत बीचको व्यापारका क्षेत्रमा रहेका समस्या समाधानमा सहयोग गर्न भारतीय सरकार तयार रहेको बताए । उनले नेपालसँगको व्यापार सम्बन्ध अझ सुधार तथा विस्तार गर्नुपर्ने बताए । “दुई पक्षीय व्यापार विस्तार गर्न भारत सधै तयार छ,” उनले भने, “त्यस्ता विषयहरूमा दुवै देशले छलफल र कुराकानीबाटै अघि बढ्नु पर्दछ ।” नीतिगत, पूर्वाधार तथा स्थलगत सवै प्रकारका समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
समारोहमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पछिल्लो समय नेपाल–भारत वाणिज्य सम्बन्ध अत्यन्त राम्रो भएको बताए । नेपाल र भारत बीचको व्यापारलाई सहज रूपमा अगाडि बढाउन दुवै देश लागिरहेको र कतिपय महत्वपूर्ण परियोजना सम्पन्न भएपश्चात आपसी व्यापार थप मजबुद हुने पुरीको भनाइ थियो । पुरीले नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा वीरगञ्जको एकीकृत भन्सार जाँचचौकी सञ्चालनमा ल्याएको साथै विराटनगरमा पनि सञ्चालनको तयारिमा रहेको योसँगै दुई देशको व्यापार विस्तारमा सहजता आउने बताए । पुरीले छिट्टै शुभारम्भ हुन गइरहेको मोतिहारी–अम्लेखगंज पेट्रोलियम पाइपलाइन नेपालको आर्थिक विकासका लागि गेम चेञ्जर हुने दावी गर्दै कार्गाे तथा अन्य लजिस्टिक क्षेत्रमा सहज बनाउदै यसले समग्रमा नेपालको विकासमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।