ओमानसँग शून्य लागतमा श्रम सम्झौताबारे टुंगो लाग्दै
सामाजिक सुरक्षासहित न्यूनतम पारिश्रमिकको प्रत्याभूत हुने गरी नेपाली श्रमिकहरू ओमान रोजगारीमा पठाउने गरी श्रम समझदारीका बुँदा तय गर्न छलफलमा जोड दिइने श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए। सहसचिव घिमिरेको संयोजकत्वमा ओमान टोली र नेपाली टोलीबीच वार्ता चलिहरेको छ।
शुक्रबार साँझसम्म श्रम सम्झौताको टुंगो लाग्ने गरी छलफल चलिरहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए। यसअघि पनि गत माघ १२ गते शनिबार मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली ओमानसँग श्रम समझदारीका विषयमा छलफलका लागि ओमान गएको थियो। सोही समयमा उक्त टोलीले युएईसँग पनि श्रम समझदारीका लागि वार्ता गरेर फर्किएको थियो।
युएई र ओमान श्रम सम्झौताका लागि सकारात्मक देखिएको र पुनः सम्झौताका विषयमा थप छलफल गरी टुंगो लगाइने सहसचिव घिमिरेले बताएका थिए।
नेपाल र युएईबीच भने गत बैसाख १२ गते बिहीबार बसेको दुई देशका प्राविधिक टोलीको बैठकले श्रम सम्झौताका विषयमा टुंगो लगाएको छ। अब श्रम सम्झौतामा दुई देशका उच्च अधिकारीबीच हस्ताक्षरको मिति मात्रै टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।
शुक्रबारको छलफलको निष्कर्षपछि ओमानसँग पनि श्रम सम्झौताको टुंगो लाग्ने जनाइएको छ। ओमानसँग श्रम सम्झौता गरी कामदारहरु पठाउँदा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको ग्यारेन्टी प्रत्याभूत हुने सरकारको विश्वास छ।
सरकारले ओमानसँग पनि मलेसियाकै मोडलमा सम्झौता गर्न चाहेको जनाएको छ। श्रमिकहरुलाई ओमान जाँदा आर्थिक व्ययभार नपर्ने हिसाबले वार्ता गरिने जनाइएको छ।
श्रम सम्झौता एमओयुका बुँदामा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बिमा, महिना पूरा भएको निश्चित समयमा तलब सुविधा बैंक खातामै प्राप्त हुने, राहदानी कामदारसँगै रहनेलगायतका मुख्य एजेन्डाहरू समेटिएको जनाइएको छ। नेपाली कामदारहरुको गन्तव्य मुलुकका रुपमा रहँदै आएको ओमानसँग नेपालले पहिलो पटक श्रम सम्झौता गर्ने भएको हो।
यसअघि ओमानसँग कुनै पनि श्रम सम्झौता भएको थिएन। सम्झौता नभए पनि थुप्रै नेपाली कामदारहरू रोजगारको खोजीमा ओमान पुग्ने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार हरेक महिना ५ सयबढी कामदार श्रम स्विकृति लिएर ओमान रोजगारका लागि पुगेका छन्। गत चैतमा मात्रै ओमान रोजगारका लागि ५ सय ११ जना कामदारहरुले अन्तिम श्रम स्विकृति लिएका छन्।