काठमाडौं । बजेटमा उल्लेखित योजनाहरुवाहेकका विभिन्न शीर्षकमा ठूलो रकम निकासा हुने गरेको भन्दै सर्वत्र आलोचना भइरहदा फागुनमा मात्र १८ अर्ब ६८ करोड ८१ लाख बढी रकमान्तर भएको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यो महिनामा सबैभन्दा धेरै प्रदेशमा समपुरक र विशेष अनुदानका लागि ८ अर्ब ५२ करोड र स्थानीय तहमा अनुदानका लागि ६ अर्ब ३ करोड ४३ लाख रुपैयाँ निकासा भएको उल्लेख छ ।
भैपरी आउने खर्च शीर्षकमा विकास र साधारण प्रशासनतर्फ ३ अर्ब ७२ करोड ६९ लाख रुपैयाँ निकासा भएको छ । जसअन्तर्गत हुलाकी राजमार्गको दोश्रो चरणको निर्माण कार्यका लागि २ अर्ब १५ करोड रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरेको छ ।
यस्तै, विशेष आर्थिक क्षेत्र प्राधिकरणका लागि ४० करोड, कृषि विकास बैंकबाट साना किसानलाई साझा सहकारी संस्थामार्फत प्रवाह भएको ऋण रकम मिनाहाका लागि २९ करोड ३९ लाख, बेलहिया–बुटवल सडकखण्ड बिस्तारका लागि २० करोड, मकवानपूरमा पूर्वी राप्ती नदी नियन्त्रण तथा नारायणी नदी व्यवस्थापन आयोजना चितवनका लागि १५ करोड रुपैयाँ रकमान्तर भएको छ ।
झापाका कन्काई, विरिङ्ग, रतुवा मावा र कमल खोला लगायत नदीमा तटबन्ध निर्माणका लागि १० करोड, न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनका लागि सर्वोच्च अदालतलाई २ करोड रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ ।
होलेरी, तिला–दारबोटे सडक खण्ड शहीद मार्गका लागि २० करोड तथा वीरगञ्ज–पथलैया सडकको मुआब्जा तथा क्षतिपूर्ती वितरणका लागि २० करोड प्रदान गरिएको छ ।