काठमाडौं । नवलपुरमा एक हजार ७७५ हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइ भएको छ ।
केही छिटफुट स्थानमा बाहेक नवलपुरका सबै पकेट क्षेत्रमा चैते धान रोपाइ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपुर चैते धानको पकेट क्षेत्र मानिन्छ ।
यहाँ असारेभन्दा चैते धान खेती राम्रो हुने केन्द्रले जनाएको छ । गैडाकोट, अमरापुरी, देवचुली, कावासोती, मध्यविन्दु, कुमारवर्ती, अरुणखोला, रजहर, चिलाहा, रतौल, मगरकोट, पिठौली लगायतका क्षेत्रमा चैते धानको राम्रो उत्पादन हुन्छ ।
यस्तै जिल्लाको पहाडी क्षेत्र बुलिंटार, डेढगाउँमा समेत चैते धान खेती राम्रो हुन्छ । चैते धान खेती हुने यी स्थानहरुमा सिमसार क्षेत्र भएकाले सिँचाइ नभए पनि धानको उत्पादन राम्रो हुने गरेको छ ।
गतवर्ष पनि एक हजार ७७० हेक्टर क्षेत्रफमा चैते धान रोपिएको थियो भने सात हजार २९९ मेट्रिक्टन धान उत्पादन भएको थियो । जिल्लामा चैते धान दुई, चैते धान तीन, चैते धान चार, सिएच ४५, हर्दिनाथ जस्ता जातका धान लगाइने गरिएको छ ।
चैते धानमा असारे धान जस्तो रोग र किरा नलाग्ने साथै फल पनि बढी लाग्ने हँुदा उत्पादन पनि राम्रो हुने गरेको कृषि प्राविधिक नरेन्द्र भण्डारीले बताउनुभयो ।