काठमाडौं । माघे (मकर) संक्रान्ति पर्व आज देशभर मनाइँदैछ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे संक्रान्ति पर्व मनाउने गरिन्छ ।
आजबाट दिनभन्दा रात छोटा हुँदै जाने धार्मिक विश्वास रहेको छ । कर्म गर्नका लागि माघको शुक्ल पक्ष बढी महत्वपूर्ण समय मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । विहानैदेखि देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा रहेको छ ।
यस्तै, माघी पर्वलाई आज थारु समुदायले नयाँ वर्षका रुपमा मनाउदै छन् । माघी पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । माघी पर्व बिशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने गर्छन् ।
यसैबीच, माघीमा कैलालीका तीन स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा भोलि बिदा दिनुपरेको बताउनुभयो ।