काठमाडौं । मौसमी तापक्रम घट्दै गएपछि चिसो बढ्दै जान्छ । यसरी वातावरण चिसो भएपछि त्यसैसँग हाम्रो शरीरको तापक्रममा पनि घटबढ हुन्छ ।
यही क्रममा वायुमण्डलमा हुने विभिन्न रोगको संक्रमणले समेत हाम्रो स्वास्थ्यमा नकरात्मक असर पार्न थाल्छ । चिसो मौसममा हाम्रो शरीरको तापक्रम अत्यन्तै न्युन हुने भएकाले न्यानो र बाक्लो कपडा आवश्यक हुन्छ ।
जाडो याममा हामीले आफ्नो स्वास्थ्यको हेरचाह नगरेको खण्डमा हामीलाई विभिन्न किसिमका रोगहरुले संक्रमण गर्ने चिकित्सकहरु बताँउछन् । शरीरलाई चिसोका बेला पनि न्यायो बनाईराख्न प्रशस्त मात्रामा तातो पानी वा झोलीलो पदार्थ पिउन, चिसो खानेकुराहरु कम खान र फ्रिजमा राखिएको खानेकुराहरु सकेसम्म नखान चिकित्सकहरुको सुझाव छ ।
हामी स्वास्थ्य रहन निन्द्राको पनि अत्यन्तै महत्वपुर्ण भुमिका हुन्छ । हामी धेरै अनिदो रह्यौं भने त्यतिबेला हामीसँग रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र हामीलाई विभिन्न रोगले संक्रमण गर्ने संभावना बढी हुने चिकित्सकहरुको भनाई छ ।
जाडो यममा हामीलाई बढी मात्रामा संक्रमणको डर हुने रोगहरु यी हुन् -
टन्सिल
बालबालिकामा टन्सिलको समस्या आमरूपमा देखिन्छ । यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन सक्छ ।
यो समस्या भएमा घाँटीमा दुखाइ महसुस, खाना खान र बोल्न समस्या, ज्वरो आउने हुन सक्छ । यसबाट बच्न चिसो पेय पदार्थ तथा चिसो खाने कुराको सेवन गर्नुहुँदैन ।
दम
दम एक किसिमको एलर्जिक रोग हो । चिसोमा दमको समस्या हुने विरामीले सतर्कता अपनाउन जरुरी छ ।
किनकी चिसोमा यो रोगले बिरामीलाई संक्रमण गर्ने संभावना धेरै हुन्छ । दमका रोगीहरू एलर्जिक तत्व तथा चिसो हावाबाट बच्नुपर्छ ।
जोर्नीको दुखाइ
बिषेश गरी वृद्ध–वृद्धामा बदलिँदो मौसममा हात खुट्टाका जोर्नी दुख्ने समस्या बढी देखिन्छ । चिसो बढेको यस्ता समस्या धेरैलाई हुन सक्छ ।
तर, वृद्ध–वृद्धाको हड्डी कमजोर हुने भएका कारण चिसोले बढी प्रभावित गर्दछ । अर्थराइटिस, सानो जोर्नीमा दुखाई, घुँडाको दुखाइ असहनीय हुन्छ ।
यसबाट बच्न सकेसम्म चिसो हावामा बाहिर नस्कन नहुने चिकित्सकहरुको सल्लाह छ । जोर्नीमा तातो सेकाइका लागि पट्टी या हट ब्यागको प्रयोग गर्न सकिन्छ ।
छालामा समस्या
जाडो मौसममा छाला पनि जोखिममा हुन्छ । यो समयमा शरीरमा पानीको मात्रा कम भइरहन्छ ।
त्यसैले पानी कम पिउने बानीका कारण छालामा समस्या देखिन थाल्छ । जस्तो कि छाला सुक्खा हुने, चिलाउने, ओठ फुट्नेलगायतका समस्याहरु देखा पर्दछन् ।
छालामा हुने समस्याबाट बच्नका लागि प्रशस्त मात्रामा पानी पिउन लाभदायक हुने बताईन्छ ।
निमोनिया
जाडो मौसममा ब्याक्टेरिया सक्रिय हुन्छन् । जसका कारण बालबालिका र बुढाबुढीहरूमा निमोनिया हुने गर्दछ । जाडोमा न्यानो कपडा नलगाउँदा र प्रशस्त मात्रामा पानीको प्रयोग नगर्दा निमोनिया हुने संभावना धेरै हुन्छ ।
पिनास
चिसो मौसममा पिनासले धेरैलाई दुःख दिने गर्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । चिसोका कारण नाकभित्रको पानी बाहिर निस्कन नसकेर खाली ठाउँमा बस्छ । त्यहाँ पानी भरिन्छ र पिनास हुन्छ ।
पिनास सामान्य रोगजस्तो देखिए पनि यसले दीर्घकालीन रूपमा ठूलो समस्या सिर्जना गर्छ । त्यसकारण पिनासबाट सदैव सतर्क रहनु पर्ने हुन्छ ।
चिसोमा लाग्ने यी रोगबाट यसरी बच्न सकिन्छ -
चिसो मौसमका सम्भावित रोगबाट बच्नका लागि प्रशस्त मात्रामा तातो पानी वा झोलिलो पदार्थ बढी मात्रामा सेवन गर्ने साथै न्यानो वा बाक्लो कपडा प्रयोग गर्नुपर्छ ।
नियमित शारीरिक व्यायाम गर्दा र संक्रमित व्यक्तिबाट टाढै बस्दा यस्ता रोगहरुबाट बच्न सकिने चिकित्सहरुको सुझाव छ ।
प्रशिक्षार्थी : पवित्रा राईद्धारा संकलित सामाग्री