काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।
विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौ जना छन् । यी दुबै जिल्लामा पहिराले मानवीय क्षति गराएको हो ।
त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ÷छ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
पहिरामा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।
यो क्रम आज पनि जारी छ । हराएकाहरुको खोजी र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाल जनाएको छ ।
यस्तै लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको छ ।
कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका हुन् । डुबान क्षेत्रमा रहेका परिवारका सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले दिए ।