कैलाली । वर्षाका कारण कैलाली, कञ्चनपुरमा भित्र्याउन ठिक्क पारेको धानबाली नष्ट भएको छ । आइतवार रातीदेखीको अविरल वर्षाका कारण धान बाली सखाप भएपछि किसान चिन्तित वनेका छन् । किसानको धान वर्षाले भिजाएको र डुबाएको मात्रै होईन नदीले बगाएको समेत छ ।
विगत केही दिनदेखि परेको बेमौसमी वर्षाका कारण खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्राउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । खेती भित्र्याउने वेला अचानक अविरल वर्षा परेपछि धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई मार परेको छ । किसान अङ्गुरा राना आफूले लगाएको सम्पूर्ण धानबाली नष्ट भएको र आफ्नो परिवारको बिचल्ली हुन लागेको बताउँछन् । त्यसैगरी आफूले लगाएको सम्पूर्ण धानबाली नष्ट भएको किसान रतनबहादुर मल्लको भनाई छ ।
वर्षाका कारण कञ्चनपुरका सयौँ किसानको हजारौँ बिघा जमिनको धान भिजेको छ । घरमा भित्राउन ठिक्क पारेको धान भिजेपछि किसानहरु मर्माहत भएका छन् भने आगामी दिनमा भोकमरी हुने चिन्ताले किसानलाई सताएको छ । आगामी दिनमा पीडित किसानहरुका लागि खाद्यान्नको व्यवस्था गरिनुपर्ने र किसानलाई मल, बिउको व्यवस्थापन सरकारले गरिदिनुपर्ने किसान घनश्याम पन्त बताउँछन् ।
वर्षाले बालीमा क्षति पुर्याएपछि कृषि विकास निर्देशनालय दिपायलले मातहतका कार्यालयसँग समन्वय गरी किसानको अवस्था र वर्षाले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्न टोली परिचालन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्रको टोलीले कैलाली, कञ्चनपुरका किसानहरूको खेतमै पुगेर निरीक्षण गरेको छ । निरीक्षण टोलीमै रहेका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले वर्षाका कारण हजारौँ बिघाको धान नष्ट हुँदा अर्बाैको क्षति भएको बताए ।
स्थानीय तहहरूले निरीक्षण र क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । विवरण सङ्कलन पछि आवश्यक क्षर्तीपूती र अनुदान उपलब्ध गराइने शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले बताए ।
सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङ्क छ । सुदूरपश्चिम प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन रहेको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ । यस वर्ष समयमै मनसुन भएको हुँदा धान उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको भए पनि निरन्तरको बेमौसमी झरीले उत्पादनमा ह्रास आउने आंकलन गरिएको छ ।