काठमाडौं । सरकार र आमरण अनसनरत रुबी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले आफ्नो अनसन स्थगित गर्ने भएकी छन्।गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमित भएसँगै अनसन स्थगित गर्न सहमत भएको हो ।
७ दिनभित्र प्रतिवेदन बुझाउने गरी बनेको छानविन समितिमा आन्दोलनकारीको तर्फबाट मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहमद शेर बागवान पनि छन्। अनसनरत रुबीले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने माग राखेकी थिइन्। गृहमन्त्रालयका अधिकारीहरुले भने दाषी देखिएकालाई कारबाही गर्ने र खानको मागप्रति सकारात्मक रहेको बताएका छन् । सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने मानवअधिकारकर्मी मोहना अन्सारीले जानकारी दिइन् ।
बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ महिलासहित १४ जना २० दिन हिँडेर काठमाडौं आएका थिए । काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनसन थालेकी थिइन् ।