काठमाडौं । यस वर्ष नेपाल राष्ट्र बैंकले दशैंको अवसर पारेर करिब ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ । हरेक वर्ष सर्वसाधारणहरुका लागि केन्द्रीय बैंकले नयाँ नोट उपलब्ध गराउँदै आएको छ ।
दशैं नजिकिएसँगै नेपालीहरुको घर–परिवारमा नयाँ नोटको खोजी सुरु हुन्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन निकै पुरानो भइसक्यो । यही प्रचलनलाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निस्काशन गर्छ ।
मूल्यका हिसाबले पुरानो र नयाँ नोट एउटै हो । तर, पुरानो नोट आदानप्रदान गर्दा दशैंको आभास नै आउँदैन । त्यसैले नयाँ नोट यतिबेला ‘चिज’ बन्छ । तर, नयाँ नोटलाई राम्ररी हिफाजत नगर्दा पुरानो देखिन समय पनि लाग्दैन ।
दशैंमा पुजामा प्रयोग गरिने, पानीमा चोबलिने, अविर लगाउने जस्ता कार्यले नोटको आयु कम हुन्छ । नोट छिटो बिग्रिए छिटो–छिटो छपाउनु पर्ने हुन्छ र त्यसका लागि राष्ट्र बैंकले ठूलो धनराशी खर्च गर्नु पर्छ । त्यसैले नयाँ नोटको हिफाजतका लागि राष्ट्र बैंकले बारम्बार आग्रह गर्ने गरेको छ ।
आमरुपमा ठूला नोटको तुलनामा साना नोटलाई बेवास्ता गरिन्छ । त्यसैले साना नोट चाँडै च्यातिने गरेको राष्ट्र बैंकको विगतको तथ्यांकहरुले देखाउँछन् । हजार र पाँच सयका नोट बढी जतन हुने भएकाले तिनको आयु तुलनात्मकरुपमा बढी हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकको एक सर्वेक्षणले देखाएअनुसार ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्छन् । जबकि नोटको गुणस्तरमा खासै फरक हुँदेन ।
हजार र पाँच सय नोटको तुलनामा पाँच, दस, बीस, पचास, सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुगेको राष्ट्र बैंक बताउछ । यसपाली पनि राष्ट्र बैंकले सर्वसाधारणलाई दशैँमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन आग्रह गरेको छ ।