बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ र घरेलु हतियारहरु फेला परेको सशष्त्र प्रहरीले दाबी गरेको छ ।
प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीको नाममा टहरा बनाउने समूह र प्रहरीबीच आइतबार चारजनाको ज्यान जाने गरी झडप भएको थियो ।
घटनास्थलमा चलाएको सर्च अभियानका क्रममा झण्डै एक हजार थान बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको सशष्त्र प्रहरीले जनाएको छ ।
घटना भएका स्थानहरु रानीगन्ज, मगरघाट पुल मुनिको बगर र हरिहरगन्जमा खोजतलास गर्दा तयारी अवस्थामा राखिएका पेट्रोल बम र हसिया,भाटा लगायत घरेलु हतियारहरु फेला परेको सशस्त्र प्रहरी नं.. २७ गणका सूचना अधिकृत सशस्त्र प्रहरी नायब उपरीक्षक निराकार शुक्लाले बताए ।
सर्च अभियान जारी रहेकाले पेट्रोल बम र घरेलु हतियारको यकिन परिणाम बढ्न सक्ने शुक्लाले बताए । गत आईतवार मोतिपुर औधोगिक करिडोरको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा प्रहरी र अतिक्रमणकारी बिच झडप भएको थियो ।
झडपमा अतिक्रमणकारीहरुले प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर प्रहरी उपरीक्षक राजेश उप्रेतीसहित प्रहरीहरु घाइते भएका थिए । प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउंदा ४ जना सर्वसाधारणको ज्यान गएको थियो । झडपमा नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा १० जना गम्भीर घाइते भएका थिए ।
झडपमा परी १८ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । घटनाको निष्पक्ष छानवीन गर्न मानव अधिकार तथा शान्ति समाज लगायतका संस्था र प्रमुख विपक्षी दल एमालेले माग गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन आइतबार सांझदेखि कर्फ्यू जारी गरेको रुपन्देही प्रशासनले त्यस क्षेत्रमा जारी गरेको कर्फ्यू भने आजबाट हटाएको छ ।