काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका छन् । विजय दशमीको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन नसक्ने बताएका हुन् ।
‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याइए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैनन भन्ने बोध हामीले गरेका छौँ’, उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् यस्तै उनले परराष्ट्र नीति असन्तुलित हुँदा राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध गरेको उल्लेख गरेका छन् ।
देशवासीमा भिडियो सन्देश जारी गर्दै देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गरेका छन् । लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको शाहको भनाइ छ ।
हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार हुने उल्लेख गर्दै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन् ‘राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन, त्यो हाम्रो मान्यता पनि होइन, न त परम्परा ।’ शाह वंशीय राजपद्धतिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने पनि पुर्व राजा शाहले प्रष्ट पारेका छन् ।